काठमाडौं । प्रधानमन्त्री केपी ओली अक्सफोर्ड युनिभर्सिटीमा जेठ २७ गते सम्बोधन गरेका छन् । अक्सफोर्ड युनिभर्सिटीमा सम्बोधन गर्ने ओली पहिलो नेपाली प्रधानमन्त्री हुन् । प्रधानमन्त्री ओलीले सम्बोधन गरेकै तेस्रो दिन अक्सफोर्ड विश्वविद्यालयमै पृथकतावादी डा.सीके राउतले बुधबार सम्बोधन गर्दैछन् । ओली बेलायत भ्रमणको अवसर पारेर राउतलाई बोलाइएको रहस्य भने खुलेको छैन । अक्सफोर्ड विश्वविद्यालयमा नेपालका प्रधानमन्त्री ओलीले मन्तव्य दिएलगत्तै सोही विश्वविद्यालयमा पृथकतावादी सीके राउतलाई ओलीसरहको स्ट्यासमा भित्र्याएर मन्तव्य दिन लगाइनु नेपालका निम्ति गम्भीर चिन्ताको विषय हो ।

सीके राउत जेठ २६ अर्थात् प्रधानमन्त्री केपी ओली युरोप प्रस्थान गरेको भोलिपल्ट नै बेलायततिर लागेका थिए । उनलाई अक्सफोर्ड युनिभर्सिटीमा उच्च सम्मानका साथ बोलाइएको र त्यहाँ उनले नेपालबाट तराई छुट्टिन किन आवश्यक छ भन्ने विषयमा लामो प्रवचन दिने कार्यक्रम रहेको बुझिएको छ । रहस्यमयी किसिमबाट सरकारसँग सहमति गरी थुनामुक्त भएका र थुनामुक्तिपश्चात् ‘जनमत’ नामक समूह खडा गरी पृथकतावादी क्रियाकलापमा संलग्न रहेका सीके राउतलाई पश्चिमा मुलुकहरूको बलियो ‘ब्याकिङ’ रहेको विश्वास गरिन्छ ।

पश्चिमाहरूले सीकेलाई अधिक महत्व दिनु र उनका गतिविधि बडो रणनीतिक ढंगले अघि बढ्नुले नेपाल र यसका छिमेकी मुलुकहरूलाई समेत चिन्तित बनाएको छ । अमेरिकी संसद्ले गत डिसेम्बरमा तिब्बतदेखि नेपाल र भारतसम्म ‘प्रजातन्त्र सुदृढ बनाउन’ भन्दै २१ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय लिएको छ । सीके राउतद्वारा नेपालविरुद्ध र विखण्डनको पक्षमा लेखिएको एक पुस्तक केहीअघि लन्डनमा विमोचन भएको थियो । विमोचनमा रहस्यमयी पात्रका रूपमा चिनिने दीपेन्द्र झालाई विशेष वक्ताका रूपमा सहभागी गराइएको थियो । राउतले जनमतसंग्रह गरी नेपाल विभाजन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

गत वर्ष (केही महिनाअघि)सम्म थुनामा रहेका सीके राउतलाई थुनामुक्त गरी प्रधानमन्त्रीको स्तरमा सम्झौता भएपश्चात् उनले रणनीतिक योजनामुताबिक पार्टीको नाम नै ‘जनमत’ राखेर तराई क्षेत्रमा आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । लन्डनमा सीकेले दिने अभिव्यक्ति नेपाल, नेपाली जनता, नेपालको एकता र सामाजिक सद्भावका विरुद्ध हुने निश्चित छ । प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेकै बेला पारेर पृथकतावादी सीके राउतलाई अक्सफोर्डमा आमन्त्रण गरिनुले प्रधानमन्त्री ओली घेराबन्दीमा परेको या पार्न खोजेको संकेत गरिरहेको छ ।