काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका प्रत्येक सांसदलाई ६ करोड दिने सरकारको निर्णयको विरोध जारी छ । सांसद कार्यपालिका सदस्य नभई व्यवस्थापिका सदस्य भएको भन्दै उनीहरूलाई ६ करोड दिन नहुने भन्दै निरन्तर विरोध र आलोचना भइरहेको छ । सत्तापक्षीय र प्रतिपक्षीय सांसदहरू यस विषयमा दुई ध्रुवमा विभाजित भएका छन् । कसैले लिन हुने र कसैले नहुने धारणा राख्दै आएका छन् ।

यही क्रममा सांसदहरूलाई एक–एक थान ल्यापटप वितरण गरिने भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिन खरिद प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्न राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ । केही दिनअघि बसेको संघीय संसद् सचिवालय बैठकले सांसदलाई ल्यापटप दिने निर्णय गरेको हो । ल्यापटप दिने निर्णयलाई लिएर नेताहरुले नै असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद भीमबहादुर रावलले सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् भनेर खबरदारी गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् । ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन् ।’ रावल अछाम–१ बाट निर्वाचित सांसद हुन् । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पनि सांसदलाई ल्यापटप बाँड्ने योजनाको विरोध गरेका छन् ।

‘हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन, अब ३३४ ल्यापटप । अनि एक घर एक पजेरो, घरमा एक सहयोगी र सिंहदरबारमा दिउँसो एक आराम कक्ष थकान मार्न सरकारले व्यवस्थापन गरोस्, देशमा समृद्धि आउनेछ, गरिबी अन्त्य हुनेछ । अनि गाउँगाउँमा जनता सम्पन्न हुनेछन्,’ उनले ट्वीट गर्दै लेखेका छन् । कांग्रेस नेता खतिवडा ओखलढुंगाबाट पराजित भएका थिए ।सामाजिक सञ्जालमा सर्वसाधारणले पनि सांसदलाई ल्यापटप उपलब्ध गराउन राज्यकोषको रकम खर्च गर्न लागिएकोमा असन्तुष्टि जनाएका छन् ।