एजेन्सी । विगत सात आठ महिनादेखि देखिँदै आएको भारत पाकिस्तान तनाव मत्थर हुने दिशामा अघि बढेको छ । पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएसँगै सम्बन्ध सुधार हुने संकेत देखिएको हो ।

भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जान पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले आफ्नो हवाई मार्ग पछिल्लो समय अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि बन्द गरेको छ ।

भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । भारतको आग्रहअनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाश मार्ग उपलब्ध गराउन सहमति जनाएको हो ।

मोदी १३ र १४ जुनमा किर्गिस्तानको बिश्केकमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । सो बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमारान खानसमेत सहभागी हुँदैछन् ।

पाकिस्तानले आफ्नो आकाश मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनुपर्ने हुन्थ्यो । पाकिस्तानी आकाश मार्ग प्रयोग गर्दा करिब चार घन्टामै किर्गिस्तान पुगिने बताइएको छ ।