काठमाडौं । चार वर्षअघि भूकम्पले ध्वस्त चीन–नेपाल जोड्ने तातोपानी नाका दुई साताअघि पुनः सञ्चालनमा आयो । निकै कसरतपछि सञ्चालनमा आएको दिन चिनियाँ चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।

वर्तमान केपी ओली सरकारले तातोपानी नाका पुनः सञ्चालनमा आएको भन्दै आफ्नो ठूलै उपलब्धि भनी प्रचार पनि ग¥यो । जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि दुई दिनअघि नै नाका खुल्यो ।

१२ दिनअघि सञ्चालनमा आएको नाका अहिले बन्द जस्तै छ । सञ्चालनमा आएको दुई साता बित्न लाग्दासमेत ती चारवटा कन्टेनरबाहेक न त चिनियाँ पक्षले अरू गाडीलाई प्रवेश दिएको छ न त चिनियाँ गाडी नै नेपालतर्फ आए । भूकम्पपछि पुनः सञ्चालनमा आएको नाका अहिले औपचारिकतामा मात्रै सीमित भएको छ ।
चीनले सो नाकाबाट कार्गोबाहेक अरु सवारीसाधन चल्न नदिने रणनीति बनाएको छ । तर, नेपाल सरकारका मन्त्रीहरू भने तातोपानी नाका पहिलेकै जस्तो गरी सञ्चालन हुने भन्दै भाषण दिएर हिँडेका छन् ।