काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आइतबार माइतीघर मण्डलामा गुठीको जग्गा संरक्षण गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी कुटपिट र पानीको फोहोरा हानेको प्रति आपत्ति जनाउँदै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुना साथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद पुष्पा भुसाल गौतमले गृहमन्त्री आएर सदनमा आइतबारको घटनाबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने घोषणा गरिन् ।

उनले बोलिसकेपछि कांग्रेसका सबै सांसद आफू बसेको कुर्सीबाट उठेका थिए । सभामुख कृष्णबहादुर महराले सांसद भुसालले उठाएको माग असाध्यै गम्भीर भएकाले त्यसबारे जवाफ दिन सरकारको ध्यानाकर्षण गराए । उनले गृहमन्त्रीलाई आएर जवाफ दिन आग्रह गरे । तर, सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित थिएनन् ।