काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् ।

पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै युएफा नेसन्स लिग फुटबलको उपाधि जितेको हो । रोनाल्डोकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप फुटबलको उपाधि जितेको थियो ।

पोर्टोमा आइतबार राति भएको खेल जित्दै पोर्चुगल नयाँ ढाँचाको युरोपियन फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन बन्यो । फाइनलमा युवा टोली नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्न गोन्कालो गुएडेसले निर्णायक गोल गरे ।

युएफा नेसन्स लिग फुटबल प्रतियोगितामा इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ । प्ले–अफमा स्विजरल्यान्डलाई सडन डेथमा हराउँदै इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको हो ।