डा. अरुणा उप्रेती ‘तपाईहरुले महिनावारी ब्यवस्थापन गर्न के गर्नु हुन्छ’ ? सुर्खेत, बाँके, बर्दियाका केहीँ किशोरीहरुलाई दुई हप्ता अघि मैले सोधेकी थिएँ । “हामीहरु त घरको सफा ‘टालो’ (नेपाली भाषमा त्यो प्याड नै हो) प्रयोग गर्छौ । धोएर घाममा सुकाउँछौ र फेरी प्रयोग गर्छौ । आमाहरुको पुरानो सुती, हाम्रै पुरानो सुतीको पातलो आड्ने पनि प्रयोग गछौँ । यात्रामा जादाँ चाहिँ बजारबाट किन्छौँ, तर महंगो त पर्छ । एक प्याकेटको लागि झन्डै दुई सय पर्छ तर यात्रामा धुने सम्भावना हुदैँन ।” बाँकेकी १७ वर्षकी ढकाल थरकी एक किशोरीले भनिन् “म त मामाघर जादाँ मात्र बजारबाट किन्छु । हजुरआमा त महिनावारी भएको बेलामा ज्यादै छुवाछुत गर्नुहुन्छ ।

धन्न, “छौपाडी” मा जानुपर्छ भन्नुहुन्न तर यता नजा उता नजा, भान्छामा नजा, मन्दिरको बाटोमा नहिँड भन्नुहुन्छ । अनि त्यसबाट बच्न म त मान्दै मान्दिन । घरको ‘प्याड’ प्रयोग गरे त धोएर सुकाउनु पर्दा थाहा पाउनु हुन्छ, त्यसैले महंगो परे पनि म त्यहीँ किन्छु, प्रयोग गर्छु । अनि अखबारमा बेरेर फ्याँकिदिन्छु वा फोहोर फाल्ने ठाउँमा लगेर जलाउँछु ।” ती किशोरीको साहस देखेर गजब लाग्यो । त्यहीँ बेलामा बजेटमा सरकारी स्कुलका छात्रालाई सित्तैमा ‘स्यानीटरी प्याड’ बाँड्ने कुरा भनियो । त्यो बेलामा मैले सोचेँ, के साँच्ची नै सरकारले दिगो रुपमा यो काम गर्न सक्छ ? कति पैसा लाग्छ ? कहिले सम्म बाँड्ने गर्छ ? महिनावारी ब्यवस्थापन गर्न गाउँघरमा किशोरी र महिलाहरुले के प्रयोग गरिरहेछन् भन्ने कुराको अनुसन्धान गरेर मात्र यो ‘बजेट’ मा ल्याएको हो कि साच्ची नै सरकारले नेपालका सबै स्कुलमा बाड्छ भन्ने प्रश्न गरिरहेँ आफैँलाई । काठमाडौंका शहरका सरकारी स्कुलमा त किशोरीले आफै प्याड किन्छन् । समस्या त गाउँमा छ ।

अनि मलाई याद आयो केही बर्ष अघि रामशरण अर्थमन्त्री भएर बजेट भाषण गर्दा “सम्पूर्ण स्वास्थ्य चौकिमा पाठेघर खसेका महिलाहरुको उपचार गर्न ‘रिङ पेसरी’ सित्तैमा उपलब्ध गराइनेछ” भनिएको थियो । अब महिलाहरुको लागि स्वास्थ्य शिविर गर्दा हामीले आफैँले ‘रिङ’ पेसरी लैजानु परेन भन्ने ठानें । अनि त्यसको ३ महिना पछि धादिङ र मकवानपुरमा महिला स्वास्थ्य शिविर ग¥यांै । त्यहाँ स्वास्थ्य चौकिमा पहिले नै फोन गरेर भनेका थियौँ । “त्यहाँ रिङ पेसरी त सरकारले दिइहालेको छ । हामीले ल्याउँनु पर्दैन नि” तर हरेक स्वास्थ्य चौकिबाट जवाफ भयो “सरकारको बजेट भाषणमा खोई के भन्यो थाहा छैन, तर हामीलाई त्यो खबर छैन । रिङ पेसरी पनि छैन ।” अनि हामीले आफैँ नै रिङ पेसरी किनेर लग्यौं ।

यो घटना भएको ५–६ वर्ष भन्दापनि बढि भएको छ अहिले पनि मैले बिरामी स्वास्थ्य चौकि र अस्पतालमा रिङ पेसरी आयो भनेर सोद्धा कुनै पनि स्वास्थ्य चौकिमा आयो भनिएको छैन । यो कुरा मैले स्वास्थ्य मन्त्रालयका विभिन्न सचिव र कर्मचारीलाई भने, तर कसैले पनि वास्ता गरेन । ‘प्याड’ को कथा पनि त्यहि होला कि भन्ने डर छ । मैले ७ कक्षा देखि १० कक्षा सम्म सरकारी स्कुलमा पढ्ने किशोरीहरुको संख्या निकालें । यदि ११ लाख किशोरीहरु ७–१० कक्षामा घरमा पढ्छन् भने उनीहरुलाई एक महिनामा (एघार लाख) ११,००,०००×१०० रु. को मात्रै स्यनिटरी प्याड दिईयो भने रु. ११,००,००,०००।– (एघार करोड) पर्ने एक वर्षमा झण्डै रु. ११,००,००,०००×१२=१,३२,००,००,०००।– (एक अर्ब बत्तिस करोड) पर्दो रहेछ । यति धेरै रु. को प्याड बाहिरको कम्पनीको किनीयो भने कति धेरै पैसा पर्ने रहेछ ? यसमा कसैले विचार गरेको छ कि छैन ? के सरकारले आउँदो दशै सम्म नै करोडौ पैसा खर्च गरेर प्याड दिन्छ ? बजारबाट किनीएका स्यानेटरी प्याड व्यवस्थापन कसरी गर्ने होला भन्ने पनि सोच्नै पर्छ