काठमाडौं । नेपालले युएई र मौरिसससँग द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ । जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी महासभाको अवसरमा युएई र दक्षिण अफ्रिकी मुलुक मौरिसससँग द्विपक्षीय श्रम सम्झौता हुन लागेको हो ।

सरकारले युएईसँग कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तव्यका रूपमा पहिलो पटक मौरिसससँग कामदारमैत्री श्रम सम्झौता गर्ने तयारी गरेको हो । मौरिसससँग जेठ २८ गते र युएईसँग ३१ गते द्विपक्षीय सम्झौता हुने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सहसचिव डा. रामप्रसाद घिमिरेलगायतको टोली शनिबार जेनेभा प्रस्थान गरेको छ ।

मौरिसससँगको सम्झौतामा एयरपोर्टमा पुगेको ६ घन्टाभित्र सम्बन्धित रोजगारदाताले नेपाली श्रमिकलाई लिन आउनुपर्ने सर्त राखिने भएको छ । मौरिससले यसअघि बंगलादेशलगायत अन्य देशका कामदार लिँदै आएकोमा नेपालसँग सम्झौतामा गरी नेपाली कामदार लिने जनाएको छ । मौरिससले प्रर्यटनसँग सम्बन्धीत सेवा क्षेत्रका लागि नेपाली कामदार लिने जनाएको छ ।

यूएईसँगको सम्झौतामा भिसा शुल्क, हवाई टिकट, मेनपावरको सेवा शुल्क, बिमा र मेडिकललगायतका शीर्षकमा अतिरिक्त पैसा तिर्नु नपर्ने जनाइएको छ । अब रोजगारीका लागि युएई जाने नेपालीको कार्यगत र मेडिकलसहित दुई प्रकारका बिमाको व्यवस्था गरिएको छ । यो बिमा रकम रोजगारदाताले नै बेहोर्नुपर्ने मस्यौदामा राखिनेछ ।