नेभिगेशन
राजनीति

ओलीले रविबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ : बर्षमान पुन

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको टिप्पणी गरेका छन् ।

पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरेका छन् ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर टुंगिने उनले दाबी गरे । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लगाएका छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनले बताएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्दा मामिला लगाउने, पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनु भएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइ दिने । ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्दा लगाएर एकीकृ समाजवादी आफूमा गाभ्ने । उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने ।’

पुनले भने, ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नु भएको छ । उहाँले अब आरजुका आमा–छोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनु भएको छ ।’

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरेका छन् ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताएका छन् ।

‘जब सिआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ’, पुनले भने ।

प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो । आफूहरुले नेकपा कालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए ।

ओलीको एकाधिकारवादी निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरुलाई थाहा भएरै उनीविरुद्ध आफूहरुले लडिरहेको पुनले उल्लेख गरे ।

‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौं । केही गल्ती नगरेका कारण हामी डराएका छैनौं । अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न’, उनले भने । पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको बताए । सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति