नेभिगेशन
समाज विविध

तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

तनहुँ- तनहुँमा सञ्चालन भएको चैत धान प्रवर्द्धन  आयोजनामार्फत एक वर्षमा एक हजार १ सय ७७ मेट्रिकटन चैते धान उत्पादन भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालनका लागि रु. ५८ लाख ५० हजार बजेट रहेकामा रु. ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

उनले भने, “यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।” चैते धान प्रवर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए । 

कार्यक्रममार्फत कृषकलाई आठ हजार १०० केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, तीन डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका-२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई रु. एक लाख ९३ हजार ६२४, बन्दीपुर गाउँपालिका-३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई रु. तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका-८ स्थित रिस्ती मादी कृषक समूहलाई रु. पाँच लाख २१ हजार २६१, व्यास नगरपालिका-९ स्थित फूलबारी कृषक समूहलाई रु. एक लाख छ हजार सात सय २५, भानु नगरपालिका-४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई रु. चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका-६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई रु. दुई लाख २१ हजार २५०, म्याग्दे गाउँपालिका-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई रु. दुई लाख ७६ हजार ९०८ वितरण गरिएको छ ।

त्यस्तै, म्याग्दे गाउँपालिका-३ स्थित स्यागेटारी कृषक समूहलाई रु. तीन लाख ५५ हजार ५३९, सोही वडाको आम्बोटे कृषक समूहलाई रु. तीन लाख ७६ हजार ४८६, व्यास नगरपालिका-१३ स्थित तुलसी कृषक समूहलाई रु. पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका-११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई रु. तीन लाख ४८ हजार २६६ र शुक्लागण्डकी नगरपालिका-१० स्थित युनिक अभियान कृषि सहकारी संस्थालाई रु. दुई लाख ४२ हजार २५० सहयोग गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्