नेभिगेशन
समाज विविध

१८ जनाको ज्यान जाने सौर्य एयर दुर्घटनाः प्रतिवेदनमा भेटिए को–को हुन् दोषी? (प्रतिवेदनसहित)

काठमाडौं– गत बर्षको साउन ९ गते पोखराका लागि उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजमा तौलको वितरणलाई विचार नगरी उडान अनुमति दिइनु गलत भएको तयार पारिएको प्रतिवेदनमा उल्लेख छ।

पर्यटनमन्त्री बद्री पाण्डेले बुझेको प्रतिवेदनमा गैर विमान कर्मचारी र गैर आवश्यक चालक दल जहाजमा उपस्थित रहेको जहाजमा उज्वलनशील तरल पदार्थ र अन्य खतरनाक सामानहरु पनि फेला परेको उल्लेख गरिएको छ।

प्रतिवेदनले विमानचालक क्याप्टेनको लापरवाही रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याइएको छ।
बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ।

सि–चेकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँचेका थिए। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिवेदनअनुसार जहाज दुर्घटनाको कारण प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको उल्लेख छ। जहाज टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग (नोज) अत्याधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजले गति घटेर ‘डीप स्टल’भएर दुर्घटना भएको जनाइएको छ।

जहाजको अगाडिको भाग अत्याधिक माथि उचालिनुलाई पिट रेट बढी भनिन्छ। डीप स्टलको अवस्थामा जहाजको अगाडिको भाग अत्याधिक उचालिएर पखेटाहरु उचालिएर हावाको बहाव ठप्प हुन्छ र जस्ले गर्दा जहाजले उचाइलिन सक्दैन। 

जहाज टेकअफ गर्ने क्रममा अत्याधिक गतिका साथ सिधा माथि उठेको र जहाजलाई डिप स्टल मा लग्दा जहाज खसेको प्रतिवेदनमा उल्लेख छ।

जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ। 

जहाज दुर्घटनामा पर्नुभन्दा ३४ दिन अगाडिदेखि ग्राउन्डेड रहेको समेत देखिएको छ। जहाज उडेको एक मिनेट भित्रै दाहिने पखेटा पहिलो पटक जमिनमा ठोक्किएको प्रतिवेदनमा भनिएको छ।

मर्मतसम्भार म्यानुअलअनुसार विमानको संरक्षण र सेवा मर्मतसम्भार जाँचहरू गरिएको थियो। जमिनमा सम्पर्क हुनुभन्दा पहिले जहाज नियन्त्रण प्रणाली, संरचनात्मक, वा पावर–प्लान्ट विफलताको कुनै प्रमाण थिएन। जहाज उडानको समयमा मौसम राम्रो थियो र हावा शान्त थियो।

अपरेटरले सञ्चालन म्यानुअल र जमिन ह्यान्डलिङ म्यानुअलको प्रावधानको पालना गर्न असफल भएको प्रतिवेदनमा उल्लेख छ।

अपरेटरको इन्टरपोलेटेड स्पीडकार्डले टेक–अफको लागि गलत गति उल्लेख गर्दछ। अपरेटरले आफ्ना सबै उडानहरूमा गलत स्पीडकार्ड प्रयोग गरिरहेको थियो, र चालक दलले न त त्रुटिलाई याद गरेको थियो न त रिपोर्ट गरेको थियो। उडान भर्ने क्रममा ८.६ डिग्री प्रति सेकेन्डसम्मको असामान्य रूपमा तीव्र पिच दर गणना गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्