नेभिगेशन
अर्थ विविध

व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ

वालिङ (स्याङ्जा) – स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरामा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेल दाजुभाइले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरु गरेका छन्। कृषिबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर सन्तोष पौडेलले संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिर चटक्कै छाडेर कृषि कर्ममा होमिएका हुन्।

ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर पौडेल दाजुभाइले यस वर्ष सबै जमिनमा काँक्रो मात्र लगाएका छन्। “यसपटक नौ रोपनी जमिन सबैमा काँक्रो मात्रै लगाएका छौँ,” व्यवसायी सन्तोष पौडेलले भने, “काँक्रोको उत्पादन लिन सुरु गरेका छौँ।” उनीहरूले ‘एक पटक, एउटा बाली’ अभियानअनुसार अगाडि बढ्ने रणनीति अपनाएका छन्। यसको उद्देश्य एउटा बालीमा लागेको रोग अर्कोमा नसर्ने, एकैपटक धेरै परिमाणमा उत्पादन लिने र बजार मूल्य पनि राम्रो पाउनु रहेको उनले स्पष्ट पारे।

हाल यहाँ कर्मा, किङसार र स्टारविजजस्ता तीनवटा हाइब्रिड जातका काँक्रो लगाइएको छ। उत्पादित काँक्रो अहिले स्थानीय बजार र सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री भइरहेको छ। स्थानीय व्यापारीहरू खेतमै आएर काँक्रो खरिद गरी लैजाने गरेकाले अन्यत्र लैजानुपर्ने झन्झट नभएको सन्तोषले जानकारी दिए।

काँक्रो खेतीका लागि हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, तार, जाली, कामदार ज्याला, औषधि उपचार, उपकरणलगायतमा करिब दुई लाख रुपैयाँ खर्च भएको छ। पौडेल दाजुभाइले १०० दिनमा ३० टन काँक्रो उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेका छन्। बजार भाउ यकिन नभए पनि अहिले प्रतिकेजी रु ६०–७५ का दरले बिक्री भइरहेको उनले बताए। यसपटकको काँक्रो उत्पादनपछि दोस्रो चरणमा सबै जमिनमा अर्को बाली लगाउने र वर्षभरि जमिन खाली नराख्ने योजनामा उनीहरू छन्।

काँक्रो खेतीसँगै सोही ठाउँमा तीन हजार कुखुरापालनका लागि आधुनिक फार्म निर्माण कार्य पनि भइरहेको छ। अब छिट्टै व्यावसायिक सागसब्जीसँगै कुखुरापालनलाई पनि अगाडि बढाउने तयारीमा उनीहरू छन्।

युवाहरूको यो प्रेरणादायी उद्यमशीलता देख्दा खुसी लागेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए। उनले फेदीखोला गाउँपालिकाले न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। “आवश्यक प्राविधिक सहयोगमार्फत यस्ता व्यावसायिक प्रयासलाई साथ दिन पालिका कटिबद्ध छ, उत्पादनमूलक अर्थतन्त्रतर्फको यात्रामा हामीसँगै छौँ,” अध्यक्ष सुवेदीले भने।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध