नेभिगेशन
खेलकुद

क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण जीत निकालेको हो ।

नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किरहेका थिए ।

नेपालले मंगलबार ३ खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल साह आए ।

नन्दनले वानडेमा डेब्यु गरे। उनले एक महिनाअघि टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी भएका छन् ।

बसिरले वानडेमा पुनरागमन गरेका हुन् । बसिरले सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध ओडीआईमा देखिएका थिए ।

जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी-२० सिरिज खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद