नेभिगेशन
राजनीति

तरुण दल लमजुङ बन्यो रणभूमि, दुई मन्त्रीको द्वन्द्वले अधिवेशनमा खुकुरी प्रहार

काठमाडौ - नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । 

सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ ।

ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ ।

पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका हुन् ।

गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहार गर्नेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो । अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए ।

अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते प्रदीपजंग बस्नेतले जानकारी दिए ।

संस्पाथन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार भएको उनले बताए । घाइतेहरू सबै संस्थापन इतर भेषबहादुर समूहका हुन् ।

तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए । कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।

अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।

अधिवेशनमा खुकुरी प्रहार नै भएपछि प्रहरीले जाहेरी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।

‘दुई समूहको विवादले तरुण दलको अधिवेशनमा भएको खुकुरी प्रहारको भिडियो नै देख्यौं । जाहेरी प्रक्रियामै छ,’ बोहोराले भने, ‘खुकुरी प्रहार भएको भिडियो नै सार्वजनिक भएकाले पीडित पक्षबाट जाहेरीकै आवश्यकता पनि पर्दैन । घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित