नेभिगेशन
समाज विविध

हावाहुरीका कारण आठ वटा विमान ‘डाइभर्ट’

काठमाडौँ - हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरू केही बेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् ।

काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँ नै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने । उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ ।

यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।

त्यसै गरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् ।

बुद्ध एयरको काठमाडौँ-नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपराह्नदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध