साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा, कात्तिक १ देखि दशरथ रंगशालामा हुने
काठमाडौँ- घरेलु मैदानमा हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फाले सबै तयारी पूरा भएको बताउँदै ३ टिम आइसकेको र दुई टिम आउट बाँकी रहेको जानकारी दिएको छ ।केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्ने बताइएको छ। यस्तै दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ ।
प्रतियोगितामा नेपाल लगायत मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरूमध्ये पाकिस्तान, मालदिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाडौँ बाइपुग्ने बताइएको छ ।
प्रतियोगिताको तयारीका लागि २३–सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको टिकेटिङ अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरूको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु. १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।
लिग र नकआउट चरण गरेर माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सले कूल ८० लाख एन्फालाई प्रदान गर्ने सम्झौता भएको एन्फाले जनाएको छ ।