मन्त्रिपरिषद् विस्तार दुई चरणमा गरिने

बुधबार, चैत १५, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई दुई चरणमा विस्तार गरेर पूर्णता दिने भएका छन् । एकै चरणमा विस्तार गर्न दलहरूबीच समझदारी नभएपछि दुई चरणमा विस्तार गर्ने तयारी गरेका हुन् ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ १० दलको बैठकमा मन्त्रालय भागबण्डामा कुरा मिलेको थिएन । कुरा नमिलेपछि थोरै मन्त्री भएकाले सरकार सञ्चालनमा अफ्टेरो भएको भन्दै केही मन्त्रीलाई मात्रै भए पनि आजै शपथ गराउनु पर्ने बताएका थिए । त्यही रणनीति अनुरुप पहिलो चरणमा सकभर साँझ नभए भोलि बिहान मन्त्रिपरिषद् विस्तार गरिनेछ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई चरणमा सरकार विस्तार गरेर पूर्णता दिइने बताए । बालुवाटारमा भएको १० दलको बैठकबाट बाहिरिने क्रममा लेखकले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

नमिलेको भागबण्डा मिलाउँदेै जाने केही मन्त्रीको नाम दिनुस् भनेर प्रधानमन्त्री दाहालले मागेपछि दलहरू थोरै मन्त्री पठाउन आन्तरिक छलफलमा छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले आज बेलुकासम्म एक जना मन्त्री बनाउने नेताको नाम दिन भनेपछि नेपालले बैठक बोलाएका हुन् । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

नेपाली कांग्रेसका सभापति पनि पहिलो चरणमा क–कसलाई पठाउने भनेर आन्तरिक छलफल गर्न लागेका छन् । स्रोतका अनुसार पहिलो चरणमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा केन्द्रीय सदस्य सिता गुरुरूलाई पठाउने तयारी छ । तर, निश्चित भने भइनसकेको देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए ।

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रि समाजवादी पार्टी पनि मन्त्रीमा कसलाई पठाउने भनेर आन्तरिक छलफलमा छन् ।

कांग्रेसले ८, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति बन्न सकिरहेको छैन ।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको छ । प्रस्तावमा दलहरूले आ–आफ्नो दाबी राखेर सहमतिमा नआएपछि कुरा मिल्न सकिरहेको छैन ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएपछि १० चैतसम्म सरकारलाई पूर्णता दिने बताएका थिए । तर, अहिलेसम्म भागबण्डा नमिल्दा मन्त्रिपरिषद् पूर्ण हुन सकिरहेको छैन । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्