अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भयो : मुख्यमन्त्री कार्की

बिहीबार, फागुन ११, २०७९

धरान– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन् । 

आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताए ।

पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो । उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिए ।

‘दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ’, मुख्यमन्त्री कार्कीले भने, ‘निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।’ उनले मुलुकको निर्यात घटेको र आयात झन्–झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सङ्घईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे ।

खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उनले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताएका हुन् । व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै सङ्घईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताए ।

व्यवसायी प्रवर्द्धन लागि सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेर राम्रो काम गरेको बताए । यसले यहाँको व्यापार व्यवासाय प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराह क्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा चार ठाउँबाट एक्स्पोस्थल धरान रङ्गशालासम्म निःशुल्क बस चलाइएको छ ।

एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिकरूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनका स्टल ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामग्रीका कुल १५ वटा स्टल एक्सपोमा रहेका छन् ।  

पाकिस्तान जनावरको छालाबाट बनेको सामान उत्पादन गर्ने मुलुकका रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला–पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

बङ्गलादेशको तयारी पोशाकका उत्पादन महिलाका कुर्ता, सलवार, साडी, बालबालिकाका पोशाक आकर्षणको स्टल राखिएको छ । बङ्गलादेशको तयारी पोशाक युरोप, अमेरिकी मुलुकमा निर्यात हुँदै आएको छ ।

भारतीय उत्पादन तयारी पोशाकका साथै दैनिक भान्सा तथा घरायसी कामधन्दामा आवश्यक उपकरण राखिएको छ । भारतीय साडी, कुर्ता सलवार किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।

विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट ल्याई एक्स्पोमा राखिएको छ । एक्स्पोले जुम्लाको भिर मौरीको मह, माछाको अचारदेखि अर्ग्यानिक र ब्राण्डेड वस्तु किनमेल गर्ने अवसर जुटाइएको छ ।

यस्तै पूर्वका कृषि अभियानकर्मी कृष्ण राईले कृषि प्रविधिको जानकारीसहित कृषि स्टल राखेका छन् । विभिन्न प्रविधि प्रयोग गरेर उनले आफ्नो करेसाबारीको प्रविधिको प्रदर्शनी मेलामा गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार