नेभिगेशन
समाज विविध

संसद् ऐन–कानुन बनाउन केन्द्रित हुनुपर्छ : सभामुख

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसद्को ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसद्को पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसद्को ध्यान जानुपर्ने बताएका हुन् ।

संसद्को भूमिकालाई प्रभावकारी पार्न सांसदहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउन प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे । 

यस्तै, उनले आयोगले सीमित स्रोतसाधनका बाबजुद धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखाका लागि संसदीय समिति मात्रै नभई फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे । 

विभिन्न संवैधानिक आयोगका प्रतिवेदन दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जबाफदेही हुने परिपाटी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा। रामकृष्ण तिमल्सेनाले समावेशिताको बुझाइमा एकरूपता आवश्यक पर्ने बताए ।

मुलुकमा बस्ने प्रत्येक व्यक्ति, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केही समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए । 

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाही प्रभावकारी बनाउन समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए ।

‘सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔँ र यसका अवसरहरूको उपयोग गरौँ’ भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध