कुचोबाट मनग्य आम्दानी 

आइतबार, माघ २९, २०७९

मङ्गलबारे– इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् ।

अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको छ । 

हाल कुचो रु एक सयदेखि एक सय २० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो ।

डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।

बहुउपयोगी भएपछि अन्न उत्पादन गर्ने बारी मासेर पनि प्रयोग हुन थालेको छ । यहाँका किसानले एक क्विन्टलदेखि २० क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन् । लामो डाँठ भएको रातो रङमा कुचो फुल्छ । यसलाई सुकाएर प्रयोग गरिन्छ । यसको घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेको शिताद्र्रज्वरो लाग्ने सम्भावना कम हुने गरेको बताइन्छ ।

अम्रिसो खेती एकपटक लगाएपछि १२–१५ वर्षसम्म हरियो घाँस र फूलबाट आम्दानी लिन सकिने देउमाई नगरपालिकाका डिल्ली आचार्यले बताए । उनका अनुसार यहाँका प्रायः सबै किसानले अम्रिसो लगाउने गरेका छन् । 

यसको खेती नेपालका पूर्वी पहाडी जिल्लाहरूमा खेती हुँदै आएको छ । इलाममा व्यावसायिक खेती हुने अम्रिसो झापाको बिर्तामोड र धुलाबारीमा जम्मा भएर भारत निर्यात हुने गरेको छ । 

अम्रिसो किसानले बारीको डिल र बारी नै मासेरसमेत लगाउन थालेका छन् । पछिल्लो समय दूधबाट राम्रो आम्दानी हुने भएपछि गाईभैँसीलाई घाँसका लागि अम्रिसो रोप्न थालिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्