राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्छौँ : गगन थापा

‘एमालेको राष्ट्रपति भए संवैधानिक दुर्घटना हुन्छ’
बुधबार, माघ २५, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् । 

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिर गरे । 

बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताए । 

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने बताए । 

‘राष्ट्रपतिमा आँखा लाउलास् भन्नुहुन्छ साथीहरू । ठिकै हो । तर नेपालको राष्ट्रपतिको संस्था गएका केही वर्षहरूमा हामीले कस्तो बनाएका छौँ ? मन लाग्दा संविधान मिच्न पाउने, हामीले संसद् विघटनका बेला हे¥यौँ,’ उनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अड्किएको विधेयक र यो सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेशमा मेरा आफ्ना मतहरू मैले संसद्मा पनि राखेको छु ।’

विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्