डब्लुपिएलको अक्सनमा नेपाली महिला क्रिकेट खेलाडी सर्टलिष्टमा पर्न असफल

बुधबार, माघ २५, २०७९

काठमाडौँ –भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपाली महिला क्रिकेट खेलाडी सर्टलिष्टमा पर्न असफल भएका छन् ।

नेपालका ५ खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा ८ जना एसोसियट खेलाडी परेका छन् । नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु वर्माले डब्लुपिएले नाम दर्ता गराए थिए । 

सर्टलिष्टमा एसोसियटतर्फबाट सर्वाधिक बढी ४ युएईका खेलाडी परेका छन् । युएइकी महिका गौर,वैष्णवे महेश, ईशा ओझा र तीर्थ सतिश अक्सनमा परेका छन् । त्यस्तै हङकङकी का यिङ, नेदरल्यान्ड्सकी स्टेरे कालिस र थाईल्यान्डकी नट्टाकन चन्थम छन् ।

अक्सन फेब्रुअरी १३ मा हुनेछ । अक्सनमा २४६ भारत र १६३ विदेशी खेलाडी छन् । ५ टोलीले बढीमा ९० खेलाडी किन्ने छन् । जसमा ३० विदेशी खेलाडीको कोटा हुनेछ ।

बिसिसिआईले सर्टलिष्टमा ४०९ खेलाडी परेको जनाएको छ । कुल १ हजार ५२५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका थिए । 

डब्लूपिएललमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउने छन् । एक टोलीमा ७ विदेशी खेलाडी रहन पाउने छ । जसमा कम्तिमा १ एसोसिएट खेलाडी हुनुपर्ने हुन्छ । प्लेइङ ११ मा ५ विदेशी खेलाडी खेलाउन पाउँदा १ एसोसियट हुनुपर्ने हुन्छ । प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म हुने जनाइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्