बजारमा देखेका सामान किनिहाल्न मन लाग्छ ? 

सोमबार, माघ २३, २०७९

काठमाडौँ – बजारमा देखेको सामान किनिहाल्न मन लाग्छ ? के तपाई सपिङको लतमा हुनुहुन्छ ? सपिङको लतबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ ? पक्कै पनि कतिपय पुरुष र अधिकांश महिलामा सपिङको शौक हुन्छ ।

 यस्ता स्वभावका व्यक्तिहरू बजार जानासाथ देखिएका सबै आकर्षक वस्तु किन्न खोज्छन् । केही मानिसमा त सपिङको लत नै हुन्छ । जो अनावश्यक रूपमा धन खर्च गर्दै सपिङमा समय र ऊर्जा खर्च गर्छन् । यदि तपाईँमा पनि सपिङको यस्तै लत छ भने यो लत छुटाउने केही टिप्सहरू दिँदैछौ ।

– खर्चको हिसाबकिताब

सपिङको लत छुटाउने सबैभन्दा उत्तम विकल्प भनेको आफूले गरिरहेको खर्चको हिसाब किताब गर्नु नै हो । आफूले सपिङमा गरिरहेको खर्चको हिसाबकिताब गरेमा कति धन नाश भइरहेको छ भनेर जान्न पाइन्छ । जसले केही हदसम्म सपिङ लत हटाउन मद्दत गर्दछ ।

– देखासिकी नगर्ने

सपिङ गर्ने लत लाग्नुमा अरूको नक्कल गर्ने बानी प्रमुख कारण हुने गर्दछ । तर अरूको घरमा देखेको सामान किन्ने बानी बसाइयो भने पछि पछि यो खराब बानी लत बन्न पुग्छ ।

– आवश्यकता बुझ्ने

सपिङ गर्दा आफूले किन्न लागेको वस्तु आफ्नो आवश्यकता हो होइन पहिले त्यो बुझ्नु पर्दछ । आवश्यकता बाहिरको सामान सस्तो भेटेमा पनि किन्ने बानी छाड्नु पर्दछ ।

– प्रयोगमा कमी

सपिङको लत छुटाउन घरमै भएका सामाग्रीको अधिकतम प्रयोग गर्नुपर्दछ । आवश्यकता भन्दा बढी मात्रामा कुनै वस्तुको प्रयोग गर्दा त्यो चाँडै सकिन्छ र पुनः त्यसको आवश्यकता हुन पुग्दछ । त्यसैले कुनै पनि वस्तुको प्रयोग गर्दा चाहिने भन्दा धेरै गर्नु हुँदैन ।

– सकिएपछि मात्र किन्ने

विशेष गरी कुनै सामाग्री पुरा नसकी अर्को किन्ने बानीले सपिङको लत लाग्छ । जसले घरमा बाँकी भएका सामान अर्को किनिहाल्छन् उनीहरूले नयाँ सामान आएपछि बाँकी बचेको सामान फ्याँक्न सक्छन् । त्यसैले कुनै पनि वस्तुको प्रयोग हुन्जेल सम्म प्रयोग गर्नु पर्दछ ।

– मन भुलाउन बजार नडुल्ने

केही मानिस फ्रेस हुने भन्दै मन भुलाउन बजार डुल्छन् । तर फ्रेस हुन बजार जाँदा यो नै कालान्तरमा सपिङको लत लाग्ने कारण बनिदिन्छ । त्यसैले बरु घरमै बसेर पुस्तक पढ्ने, पार्क घुम्ने, आफन्तकोमा जाने वा घरमै मन भुलाउने प्रयास गर्नु पर्दछ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्