राष्ट्रिय टिममा परे सन्दीप, शुक्रबार फिटनेस परीक्षण

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा परेका छन् । साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गरिएको ।

बुधबार (हिजो) बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । 

प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा उनको आवश्यकता देखेर नेपालमा हुने चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको जानकारी दिए ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै लामिछानेले बिहीबार नै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् । शुक्रबार उनको फिटनेस परीक्षण हुने बताइएको छ ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

सोही अभियोगमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध निवेदन दिएका लामिछाने उच्च अदालत पाटनकाको आदेशपछि मंसिर २९ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्