भारतका गिलले बनाए ३ कीर्तिमान

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –भारतले तेस्रो टी–२० म्याचमा न्युजिल्यान्डलाई १६८ रनले पराजित गरेको छ । भारतको जितमा २३ वर्षीय ओपनर शुभमन गिल चम्किए । 

एक दिवसीयमा पछिल्ला चार भिडन्तका क्रममा तीन शतक हान्ने गिल पहिलो दुई टी–२० उल्लेख्य प्रदर्शन गर्नबाट चुकेका थिए । 

तर उनले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलेको तेस्रो खेलमा १२६ रन जोडेर शानदार पारी खेले ।

गिल यसका साथै टी–२०मा भारतको तर्फबाट सबैभन्दा धेरै खेल्ने ब्याट्सम्यान पनि बने ।

उनले विराट कोहली (१२२ रन) को कीर्तिमान पनि तोडेका छन् । त्यस्तै रोहित शर्माको ११८ रनको स्कोरलाई पनि गिलले उछिनेका छन् ।  

गिल अब टी–२० फर्म्याटमा भारतका लागि सतक बनाउने सबैभन्दा युवा खेलाडी बनेका छन् । 

उनले सुरेश रैनाको रेकर्ड पनि तोडेका छन् । रैनाले यसअघि २३ वर्ष १५६ दिनको उमेर हुँदा टी–२० फम्र्याटमा १०१ रनसहित शतक बनाएका थिए । त्यस्तै केएल राहुलले २४ वर्ष १३१ दिनको हुँदा ११० रनसहित टी–२० मा शतक बनाएका थिए । 

गिलको शतक टी–२० इन्टरनेशनलमा भारतीय ब्याटसम्यानको जम्मा १३ औँ शतक हो । भारतीय खेलाडीतर्फ रोहित शर्मा ४ शतकसहित सबैभन्दा अगाडि छन् । 

गिलले पछिल्लो ६ महिनामा तीनै फम्र्याट अर्थात टेस्ट, एक दिवसीय र टी–२० मा शतक हानेका छन् । गिल तीनै फम्र्याटमा शतक बनाउने भारतका अहिलेसम्मकै केबल पाँचौँ र विश्वका २१ औँ ब्याट्सम्यान हुन् । 

गिलभन्दा अघि सुरेश रैना, केएल राहुल, रोहित शर्मा र विराट कोहली यो रेकर्ड बनाउन सफल भएका छन् । 

गिल तीनै फम्र्याटमा शतक बनाउने विश्वका दोस्रो युवा ब्याटसम्यान पनि हुन् ।

पाकिस्तानका मोहम्मद शहजादले २२ वर्ष १२७ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए । गिलले यो उपलब्धि २३ वर्ष १४६ दिमा हासिल गरे । 

गिल चम्किरहँदा न्यूजिल्यान्डको टिम तेस्रो टी–२० मा केबल ६६ रनमा अलआउट भएको थियो । भारतको यस पिचमा टी–२० मा कुनै पनि टिमको सबैभन्दा थोरै स्कोर हो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्