‘मिस्टर ग्लोबल’मा भाग लिन नूतन थाइल्यान्ड प्रस्थान

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –‘मिस्टर नेपाल वल्र्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी थाइल्यान्ड प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलालगायतले बिदाइ गरेका थिए ।

‘मिस्टर ग्लोबल’ को उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यस वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको हो ।

फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृतिसहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।

श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्