मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन

शनिबार, माघ ७, २०७९

काठमाडौँ– मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

 

प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए ।

 

मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । आज बिहानैदेखि काठमाडौँ विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौँ बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ ।

 

तुलनात्मकरुपमा आज काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । शुक्रबार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो । आज विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो ।

 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । 

 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । –रासस

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्