नेभिगेशन
जीवनयापन

‘प्रधानमन्त्रीले ओलीसँग कुरा गर्न फोन गर्दा लागेन, त्यसपछि चुनावको मिति घोषणा भयो’

काठमाडौँ - आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने कुरा संविधान, कानुनअनुसार नै भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूसँग परार्मश समेत नगरी सरकारले चुनावको मिति घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन् । आज (शुक्रवार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासामा जवाफ दिंदै उनले निर्वाचन आयोगको परामर्शअनुसार सरकारले चुनावको मिति घोषणा गरेको बताए । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यमा नरहेको दाबी समेत गरे ।

उनले भने, ‘चुनावको मिति घोषणा गर्ने कुरा निर्वाचन आयोगले धेरै अगाडि प्रस्ताव गरेको हो । आयोगको परामर्शअनुसार सरकारले गर्ने कुरा यो नियमित अभ्यासकै कुरा हो । प्रतिपक्षसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भन्ने कुरामा सत्यता छैन । प्रधानमन्त्रीले क्याबिनेट शुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न कोशिस गर्नु भएको थियो । त्यसमा म पनि उपस्थित छु । तर त्यो बेला फोन संवाद हुन सकेन । त्यसपछि निणर्य भयो । मंसिर ४ गते चुनाव हुने कुरा अपेक्षित कुरा हो ।’

मन्त्री कार्कीले सत्तारूढ दलहरूबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यकताअनुसार छलफल गर्दै अघि बढ्ने सहमति पनि गरिएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै