श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

१० महिनादेखी खोरमा थुनिएका बालकको उद्दार गर्यो बिएन्डसी अस्पतालले



काठमाडौं । झापाको अर्जुनधारामा एक बालक महिनादेखि उपचारको अभावमा १० महिनादेखि काठको खोरमा बसिरहेका थिए । उक्त बालकको जानकारी पाएपछि बिर्तामोडको बिएन्डसी हस्पिटलले उनको घर पुगेर उद्दार गर्दै निःशूल्क उपचार गर्ने भएको छ ।

अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको बिएन्डसीले निःशूल्क उपचार गर्न खोरबाट उद्दार गरेको हो । जन्मदेखि नै बोली नआएको बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ ।

बिर्तामोडको बिएन्डसी हस्पिटलले उक्त बालकको निःशूल्क उपचार गर्ने भएको छ । शुक्रबार खोरबाट उद्दार गर्दै बिएन्डसी हस्पिटलले उपचार गरिदिन लगेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं आफै पुगेर बालकको उद्दार गर्न सहयोग गरेका थिए ।

bncdpnewspic.jpg

खेती किसानी गर्ने दाहाल परिवारलाई काम गर्न असहज भएपछि बाध्य भएर खोरमा राख्न थालिएको उनकी आमा चम्पा दाहालले सुनाइन् । छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगाएको पनि उनले सुनाइन् ।

लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईले रोष प्रकट गरे । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे ।

‘यो छोरा तपाईको होइन, अब हाम्रो पनि छोरा हो, उपचार गरेर घर ल्याइदिन्छौँ ‘, बालकको परिवारलाई उनले आश्वस्त पारेका छन् । उनले भने, ‘कोही पनि पैसा नभएर उपचार पाएका छैनन् भने हामीलाई खबर गर्नुहोला ।’

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  १२ : ०० बजे