जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी स्थानमा आज बाक्लो हिमपात, जनजीवन प्रभावित



तेह्रथुम – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो । 

खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए । उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।

‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । पशुचौपया चरनमा नै कति हराएका छन् । सडकमा सवारीसाधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने ।

हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी (तस्बिरसहित) हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी (तस्बिरसहित)

घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ । 

यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेकाे स्थानीय छिरिङ शेर्पाले बताए । यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । तर,हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ ।

खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन् । गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे,मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो ।

दार्चुलाकाे ब्यासमा भारी हिमपात, जनजीवन कष्टकर दार्चुलाकाे ब्यासमा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा हिमपात – जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ ।

 जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।

‘बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएकाे छ,’ उनले भनिन् । प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेकाे छ ।

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात – बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे । 
हिमपात अहिले पनि जारी छ । 

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

प्रकाशित मिति : पुस १४, २०७८ बुधबार  ३ : १६ बजे