• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

टिकापुर बडुवाल हत्या प्रकरण : नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

क्यानाडा नेपाल मंसिर २० २०७८
  • 654
    SHARES
  • images
    images
    टिकापुर बडुवाल हत्या प्रकरण : नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

    धनगढी - ठेक्कापट्टा आफ्नो हातमा पार्ने गुण्डाको समूह निर्माण गरेका कैलालीको चिसापानी क्षेत्रका लोकजंग शाही समूहमा चिसापानीकै जयन्द्र शाह र नवीन रावल संगठित थिए । 

    images

    तर, नवीन र जयन्द्रको मनमुटाबपछि जयन्द्रले छुट्टै ‘ग्याङ’ तयार पारेका थिए । नवीन जयन्द्रको टिमलाई निस्तेज पार्न चाहन्थ्यो । जयन्द्र समूहलाई जहाँपायो त्यही कुट्ने, हेप्ने प्रवृत्ति नवीन समूहको थियो । तर, जयन्द्रलाई त्यो सह्य भएको थिएन ।
     
    जसका कारण जयन्द्र शाहले नवीन रावलको ग्याङलाई ‘बढार्ने’ योजना काठमाडौंमा बसेर बनाउन थाले । त्यसका लागि उनले अर्को आपराधिक समूह (कपिल श्रेष्ठ)सँग सहयोग मागेका थिए । श्रेष्ठ समूह जयन्द्र शाह समूहलाई साथ दिन तयार भयो । त्यसपछि सुरु हुन्छ भूपेन्द्र बडुवाल हत्या प्रकरण काठमाडौंमा बसेर बनाइएको सोही योजना अनुसार जयन्द्र समूह २०७८ कार्तिक १७ गते काठमाडौंबाट धनगढीका लागि मोटर साइकल यात्रामा हिँड्छ । 

    तीन दिन लगाएर कात्तिक २० गते कैलालीको चिसापानी क्षेत्रमा पुगेको सो समूह चिसापानीभन्दा केही पश्चिमतर्फ रहेको लम्कीस्थित मुनमुन होटेलमा बस्छ । २१ र २२ गते उक्त समूहले कैलालीको बर्दगोरियास्थित बौनिया बजारमा रहेको अनुकूल होटेलमा बसेर नवीन रावललाई मार्न उपयुक्त समयको पर्खाइ गर्ने योजना बनाउँछ । 

    कात्तिक २३ गते नवीन रावल लम्कीमा आयोजना भएको फुटबल प्रतियोगितामा सहभागी भएको जानकारी पाएपछि सोही स्थानमा रावललाई मार्ने योजना बन्दछ । तर, सो योजना विफल बन्छ । ‘नवीनलाई खेल स्थलमै मार्ने योजनासहित जयन्द्रले आफ्नो समूहमा रहेका युवालाई बोलाएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने,‘तर जयन्द्रका युवा खेल क्षत्रमा पुग्न अगावै नवीन त्यहाँबाट निस्की सकेका थिए । जसका कारण उनीहरूको पहिलो योजना सफल भएन ।’ टिकापुर गएको भन्ने जानकारीपछि जयन्द्रको समूह पनि  नवीनको खोजीमा टिकापुरतर्फ लागे । 

    तर, टिकापुरमै रहेका नवीन रावलले त्यसको चाल पाइहाले । रावलले पनि तत्कालै आफ्नो ग्याङमा आबद्ध आर्यन, मिहाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन र विकास शेरचनलाई टिकापुरको रोडसाइड क्याफेमा बोलाए । रोडसाइड क्याफेमा जम्मा भएको रावल ग्याङले तत्कालै जयन्द्र ग्याङका सदस्यलाई जहाँ भेट्यो त्यही मार्ने योजना बनाए । सोही दिनको बेलुकापख उनीहरू हतियार सहित जयन्द्र समूहको खोजीमा निष्के । 

    नवीन समूह बलियो हुने देखेपछि बेलुका पख जयन्द्र समूहका युवा टिकापुरबाट फरार भए । तर, सोही समूहका कपिल श्रेष्ठ टिकापुरमै छुटे । टिकापुरमा एक्लिएका कपिलले लम्कीका भूपेन्द्र बडुवाललाई सहयोग माग्छन् । राती भए पनि भूपेन्द्र बडुवाल साथीलाई ल्याउन भन्दै टिकापुरतर्फ लाग्छन् । सोही क्रममा बडुवाल र नवीन समूहका युवाबीच बाटोमा भेट हुन्छ । टिकापुरस्थित जमरा पुल नजिक भूपेन्द्रलाई भेटाएका नवीन समूहका युवाले उनलाई जयन्द्रको समूहलाई सघाएको आरोप लगाउँदै  लखेट्छन् । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भूपेन्द्र बडुवाललाई करिब दुई किलोमिटरसम्म नवीन समूहका युवाले लखेटेका थिए । गुन्डाबाट लखेटिएका भूपेन्द्र टिकापुरस्थित सिद्धार्थ होटेल नजिकै रहेको आफ्नी फुपूको घर जान चाहन्थे । तर, फुपूको घर पुग्न नपाउँदै उनलाई नवीन समूहका युवाले समाते र खुकुरी प्रहार गरी हत्या गरे । उनको पेटमा १ पटक, छातीमा दुई पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि खुकुरी प्रहार गरिएको प्रहरीको भनाई छ । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुकुरी प्रहारबाट मारिएका भूपेन्द्र बडुवाल कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको रेकर्ड छैन । उनी टिकापुरमा अलपत्र परेका साथीलाई लम्कीमा ल्याउनका लागि मात्रै सोतर्फ गएका थिए । 

    घटना स्थलबाट एक बोरा हतियार भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार चक्कु, खुकुरी, खडालगायत धारिला हतियार टिकापुर क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । बडुवाल हत्या भएको स्थानमा पनि खुकुरी भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । 

    प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा बडुवाल हत्या प्रकरणमा २१ जना अभियुक्त बनाइएको उल्लेख छ । हत्यामा संलग्न १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार रहेको विवरणमा उल्लेख छ । लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन् । 

    यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन् । 

    यस्तै लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, चिरञ्जीवी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार छन् ।

    उनीहरूको मोवाइल ट्याक अनुसार हत्या गरेको एक दुई दिनपछि टिकापुरबाट बर्दगोरिया, घोडाघोडी, हुँदै धनगढी उपमहानगरपालिकाको जुगेडा पुगेर भारत लागेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार हाल फरार नवीन रावल र जयन्द्र शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएका थिए । ‘ती मुद्दामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्,’ प्रहरी प्रमुख अधिकारीले भने, '२०७८ भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो, ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ ।’ 

    नवीन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ ।लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३००) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ । यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिब क्षतिपूर्तिको पनि माग गरिएको छ ।मोहन जोशी 


    मंसिर २०, २०७८ सोमवार १९:०३:०५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # टिकापुर बडुवाल हत्या प्रकरण

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो 

  • 150
    SHARES
  • राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो 

    विरेन्द्रनगर - राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो ।   तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ  । 

    images

    प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्। 

    कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

    १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो । 
     


    माघ १२, २०७८ बुधवार १२:४९:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गायक राज सिग्देलको 'उस्को याद'को भिडियो सार्वजनिक

  • 168
    SHARES
  • गायक राज सिग्देलको 'उस्को याद'को भिडियो सार्वजनिक

    काठमाडौँ । उ जितेर गई या हारेर गईका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द शृजना रहेको गीतमा मन राज गुरुगंको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । 

    images

    लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विसम परिस्थितीलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् । जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी,राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय देख्न सकिन्छ । 

    समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथालाई  रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समुहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पाद विनम खत्रीले गरेका हुन् । 

    रोजगारीको सिलसिलामा परवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको उत्थान र प्रर्वद्धनमा लागिपरेका होनाहार युवाहरुको यो कदमको नेपालमा चर्चा सुरु भएको छ । 

    निर्माण यूनिटले भोलीका दिनमा पनि भिडियो निर्माणमा निरन्तरता दिने बताउँदै आफ्नो युट्युब च्यानल आरपीएन एचडी रेड पाण्डा नेपाललाई लाइक सस्क्राइब र कमेन्ट गर्न लागि पनि आग्ह गरेको छ । 

     


    माघ ११, २०७८ मंगलवार १३:२१:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा युवा संघको प्रदर्शन 

  • 134
    SHARES
  • स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा युवा संघको प्रदर्शन 

    मकवानपुर - स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सत्तारुढ गठबन्धन विरुद्ध प्रदर्शन गरेको हो । 

    images

    संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्दि नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो । 

    हेटौंडा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेपछि बुद्धचोकमा आयोजित सभामा संघका नेताहरुले सरकार चुनावदेखि डराएर भागेको आरोप लगाएका थिए । 

    युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य आरती पाठक, दिलु घर्ती, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, नगर अध्यक्ष राकेश नगरकोटीले सरकारविरुद्ध बोलेका थिए । 


    माघ १२, २०७८ बुधवार १९:२२:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गोरखामा भूकम्पको धक्का महसुस

  • 362
    SHARES
  • गोरखामा भूकम्पको धक्का महसुस

    काठमाडौं - गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो गोरखाको मनकामना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    images

    दिउँसो ४ बजेर ५४ मिनेटमा गएको उक्त भूकम्पले गोरखा आसपासका जिल्ला हल्लाएको थियो । 

    भूकम्पका कारण कुनै क्षति नभएको जनाइएको छ । बुधबार दिउँसो गएको यस भूकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको जनाइएको छ । 


    माघ १२, २०७८ बुधवार १९:३८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    के मोडल बिना भारतीय गायक रोशनको प्रेममा छिन् ? 

    के मोडल बिना भारतीय गायक रोशनको प्रेममा छिन् ? 

    काठमाडौँ । भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ ।

    images

    रोशनले १ महिनाको काठमाडौँ बसाईमा गीत रेर्कडिगंदेखि सुटिगंसम्मको सारा काम सकेर अहिले भारत फर्किएका छन् । रोशन म्युजिक नामक युट्युब च्यानलबाट उनले तिम्रो माया बोलको गीतको भिडियो रिलिज गरेका छन् । सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द र संगीत रहेको छ भने गीतमा लोकप्रिय लोकपप गायक सुनिल गिरीको एरेन्ज रहेको छ । तिम्रो मायामा गायक पुरीले अर्की सुन्दरी मोडल बिना राउतसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

    काठमाडौँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम वियोगमा डुबेको एक जोडीको कथालाई निर्देशक दिप्रेन्द्र तिमल्सिनाले कलात्मक शैलिमा देखाएका छन् । 

    भिडियोमा धोका पाएका एक प्रेमी र धोका दिने मायालुको जाली रुपलाई देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन र कलरिगं रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन् ।


    माघ ११, २०७८ मंगलवार ०१:४१:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तनावबीच मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन, गठबन्धनको जित

  • 116
    SHARES
  • तनावबीच मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन, गठबन्धनको जित

    जनकपुरधाम - मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो । विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाममा प्रवेश हुने मुख्य मुख्य नाकाहरुमा बिरोध प्रदर्शन गरिरहेका थिए ।

    images

    जनमतका कार्यकर्ताहरु जनकपुरधामको पिराडी चोक, कमद चोक, मुरली चोक, रामानन्द चोक, जिरोमाईल लगायतका स्थानहरुमा विरोध गरिरहेका मतदानमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई मतदान स्थलसम्म पुग्न निकै सकस भएको थियो । प्रहरीले उनीहरुलाई सकटिङ्ग गरेर मतदान स्थलसम्म पुर्‍याउने काम गरिरहेका थिए ।

    त्यही क्रममा जनता समाजवादी पार्टीका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादवले चढेको प्रदेश २–०३–००१ झ ००१८ नम्बरको गाडीमा पिराडी चोकमा तोडफोड गरेका थिए । त्यसैगरि, सर्लाही हरिवन नगरपालिका मेयर गणेश प्रसाई र उपमेयर रेणु पौडेल सवार प्रदेश २–०३–००१ झ ००२०को नम्बरको गाडीमा जनमतका कार्यकर्ताले स्थानीय राम चोकमा एक्कासी तोडफोड गरेका थिए । उक्त घटनामा मेयर प्रसाईको टाउकोमा चोटपनि लागेको छ । जनमत कार्यकर्ताले लाठी प्रहार गर्दा सांसद यादवको दाँया हात भाँचिएको छ ।

    त्यसैगरि, धनुषा गाणेशमान चारनाथ नगरपालिका उपमेयर मिना यादव चढेको प्रदेश २–०३–००१ झ ००८०को नम्बरको गाडीमा सिसा फुटाईएको छ । 

    त्यसैगरि बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साह माथी पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए । आक्रमणमा परि मेसु  साहको सवारी प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ  भने मेसु  साहको मुखमा  चोट लागेर ८ वटा टका लागेको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

    यसैबीच, जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसंग झडप समेत भएको थियो । सो क्रममा प्रहरीले पाँच राउण्ड आश्रुग्यास र लाठी चार्ज गरेको थियो । मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करीब चार घण्टासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको थियो ।

    प्रहरीका अनुसार प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेका छन् भने प्रदर्शनकारीको ढुंगामुढा लागेर ४ जना प्रहरी, तीन जना जनप्रतिनिधि र एक चिकित्सक सहित ८ जना घाइते भएका छन् । ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रजौरे जानकारी दिए । पक्राउ परेकाहरु माथि मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक रजौरेले बताए । 

    यसैबीच, राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानबिन गर्न मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

    प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

    यसैबीच मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहमा जनता समाजवादी पार्टी(जसपा) नेपालका खालिद सिद्धिकी विजयी भएका छन् ।


    माघ १२, २०७८ बुधवार २१:५५:१८ बजे : प्रकाशित


    क्यानाडा नेपाल