आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

ओलीले वास्ता नगर्दा अध्यक्षमा उमेद्वारी दिन वाध्य भए भिम रावल



काठमाडौं । नेकपा एमालेको बन्दसत्रको आज दोश्रो दिन सर्वसम्मत नेतृत्व चयन गर्नेबारे केपी ओली बसेको होटलमा छलफल चलिरहेको छ । अधिकांशले सहमतिमा जाने दबाब दिईरहँदा अध्यक्ष पदको उमेद्वारी दिन लागेका भिम रावल भने आफ्नो अडानबाट पछि हटेका छैनन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार हिजो बसेको बन्द सत्रले दिएको थियो तर भिम रावलले भने निर्वाचन मै जानुपर्ने भन्दै विरोध गरेका थिए । आफू अध्यक्ष पदका लागि उमेद्वारी दिने र निर्वाचनबाट नै पदाधिकारी र सदस्य चुनिनु पर्ने माग गर्दै नेता रावलले विरोध गरेका थिए । तर अधिकांश नेताहरुले भिम रावललाई सहमतिमा आउन दबाब दिएका थिए ।

भिम रावलसंग घनश्याम भूषाल पनि निर्वाचन हुनुपर्ने माग गरेका थिए तर रावलको विरोधलाई अधिकांश नेताहरुले फितलो बनाईदिए र अध्यक्ष ओलीलाई सर्वाधिकार दिने निर्णय गरे ।

अधिकांश नेताहरुले केपी ओलीलाई समर्थन गरेको र भिम रावलको विरोध माथि पनि विरोध गरेको देख्दा निर्वाचन भयो भने पनि ठूलो मतले अध्यक्ष जित्ने केपी शर्मा ओली नै हो भन्ने प्रष्ट देखिन्छ । यो कुरा भिम रावलले पनि बुझेको उनी निकट नेताहरु बताउछन । हार्ने थाहा हुँदाहुँदै भिम रावल किन ओलीसंग भिड्न खोजेको भन्ने प्रश्न अहिले पेचिलो बनेको छ ।

उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी

यस विषयमा बुझ्न खोज्दा उनी निकट एक नेताले भने, “डा. भिम रावललाई अध्यक्ष केपी शर्मा ओलीले एकचोटी पनि फोन गरेर भेटेर सहमतिमा जाने वातावरण बनाउनु भएन त्यही भएर पनि नेता रावल रुष्ट हुँदै उमेद्वारी दिन खोज्नु भएको हो । केपी ओलीले प्रधानमन्त्री बन्दा नेता रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने सम्म भन्नु भएको थियो तर अहिले महाधिवेशन आएपछि कुनै वास्ता नगरेपछि भिम रावलले उमेद्वारी दिन खोज्नु भएको हो ।”

भिम रावललाई वरिष्ठ उपाध्यक्ष दिने ओलीको वाचा पूरा गर्नुपर्ने माग उनी निकट नेताको रहेको छ । उनले थपे, “नेता रावलले फेरि बार्गेनिंग गर्न यो उमेद्वारी दिनु भएको भने होईन । वरिष्ठ उपाध्यक्ष दिन नसके एकचोटी अध्यक्षमा उठ्न खोज्नु भएको रावललाई अध्यक्ष ज्यूले फोन गरेर भएपनि यो पाली सहमतिमा जाउँ भन्न सक्नुहुन्थ्यो तर वहांले भिम रावललाई वास्ता नै गर्नुभएन ।”

भिम रावललाई पार्टी भित्र अधिकांशले सहमतिमा जान दबाब दिइरहेका छन् । हिजो मात्र नेता रावलले सहमतिमा सबै गए म पनि जान्छु भनेका थिए तर त्यति भन्दा पनि अध्यक्ष ओलीले सहमतिमा ल्याउन आफूले रावलसंग वार्ता नगरेकोले रुष्ट भएर भिम रावलले उमेद्वारी दिन खोजेका हुन् ।

आज बिहान केपी ओली निकट नेताहरुले सकेसम्म भिम रावल र अध्यक्ष ओलीलाई भेट गराउने र रावललाई उपाध्यक्ष पद दिएर सहमतिमा ल्याउने कोशिश गरिरहेका छन् । अध्यक्ष ओली भने रावलसंग भेट्न अहिले पनि चाँसो देखाएका छैनन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ५ : ४९ बजे