असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

भिम रावल किन सहमतीमा आउनै चाहेनन् ?



काठमाडौं । नेकपा एमाले महाधिवेशनको बन्द सत्र चितवनमा सुरु भएको छ । बन्द सत्र अघि अध्यक्ष पदको लागि भिम रावल र केपी शर्मा ओली बीच भेट भएर सहमतिमा अघि बढ्ने चर्चा चलेको थियो तर अन्त्यमा भिम रावल र ओली बीच भेट हुन सकेन ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई सुनिश्चित बनाएसंगै अध्यक्षको लागि भिम रावललाई सहमतिमा ल्याउन कोशिष गरेका थिए तर भिम रावल कुनै हालतमा पनि सहमति नगर्ने मुडमा छन् । ओलीले भिम रावलसंग भेट्ने कुरा थियो तर समय अनुकूल नहुँदा यी दुईको छलफल हुन सकेन ।

केपी ओलीले भिम रावलको कुरा बुझ्न  सहमति गर्ने प्रस्ताव पठाएका थिए तर नेता रावल अहिले कुनै हालतमा पनि सहमति नगर्ने जवाफ फर्काएका छन् । भिम रावलले यदि अरु सबै पदमा सर्वसम्मत भए चाँही सोचुम्ला भनेका छन् तर सुरु मै आफू सहमति नगर्ने ठाडो जवाफ दिएका छन् ।

भिम रावलको मनस्थिति बुझेपछि केपी ओलीले आज भेटेर छलफल गर्नु कुनै फाईदाजनक नहुने भन्दै भेट्न चाँसो दिएनन् । केपी ओलीले अरु नेताहरुसंग भेटेर सबैलाई सके सम्म सहमतिमा आउन आग्रह गर्न थाले ।

नेकपा एमालेको महाधिवेशनमा प्राय नेताहरुले भिम रावलको यो आत्मघाती कदम हो भनिरहेका छन् । अहिलेको अवस्थामा भिम रावलले अध्यक्ष पद जित्न असम्भव रहेको बेला किन नेता रावलले उमेद्वारी दिएको र सहमतिमा पनि आउन नखोजेको भन्ने प्रश्न उठिरहेका छन् ।

यस विषयमा नेता महेश बस्नेत भन्छन्, “मैले भिम रावलसंग कुरा त गरेको छैन तर यो वहाँको उमेद्वारी कि त बार्गेनिंग हुनसक्छ वा कुनै पपुलर हुने स्टन्ट हुनसक्छ नत्र अहिलेको माग भनेको नै केपी शर्मा ओली हो । सम्पूर्ण एमाले सदस्यहरुले केपी ओलीलाई जिताउने पक्का छ । अब भिम रावल जीले बुझी बुझी भिड्न खोज्नु भित्र कत्तै बाहिरी कसैको आदेश त मान्नु भएको छैन भन्ने प्रश्न आउँछ ।”

केन्द्रीय सदस्यमा भिड्न लागेका नेता दुर्गा प्रसाईं भन्छन, “भिम रावलले आफ्नो नाम रोशन गर्न केपी ओलीसंग भिड्न खोज्नु भएको हो । जसरी रावणको नामसंग रामको नाम आउँछ त्यसरी नै केपी ओलीसंग लज्जास्पद हार्ने को भन्दा भिम रावलको नाम आउँछ भनेर यो उमेद्वारी दिनुभएको हो । केपी ओलीसंग हारेर आफूलाई हिट बनाउन वहाँ सहमतिमा आउन नखोज्नु भएको हो ।”

उता भिम रावललाई यस बारे सोध्दा क्यानडा नेपालसंग भने, “मैले अध्यक्ष ओलीसंग आज भेटेको पनि छैन र मैले कुनै बार्गेनिंग गरेको पनि होईन । म पछि हट्दिन जुन कुरा आज बेलुका मैले उमेद्वारी दर्ता गराएपछि सबैलाई थाहा हुन्छ । सहमतिमा आउनै पर्छ भन्ने छ र ? केपी ओलीले अब आराम गर्नुहोस हामी पार्टी लिड गर्छौं भनेको हो । एमाले कार्यकर्ताहरुले पनि यो चाहनु भएको छ भन्ने कुरा अब भोली चुनावको नतिजाले बताउँछ ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  ११ : १७ बजे