• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 334
    SHARES
  • images
    images
    एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    काठमाडौं नेकपा एमालेको १०औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । भोलि मंसिर १० गतेबाट शुरु हुने एमालेको  महाधिवेशनमा अतिथि र वक्ताको रुपमा प्रचण्डलाई बोलाइएको थियो ।

    images

    तर महाधिवेशनमा प्रचण्डको नजाने भएपछि पार्टीको प्रतिनिधि बनाएर माओवादी केन्द्रले विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठलाई पठाउने भएको हो । प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले नजाने भएका हुन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम रहेको बताइएको छ ।

    दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् । उनी महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर जाने बताइएको छ । 

    महाधिवेशनको लागि नेकपा अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहित चितवन पुगिसकेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

    शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ ।


    मंसिर ९, २०७८ बिहिवार १५:०८:२१ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक !

  • 180
    SHARES
  • कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक !

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा अहिले आन्तरिक तुषमा फसेको देखिन्छ । पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् । 

    images

    नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोलन लागेको हल्लालाई बल पुगेको छ । 

    तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।

    थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । यसलाई गत बुधबार (१५ मंसिर)मा पार्टी एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि अध्यक्षत्रय थापा, जबरा र लोहनीले स्मरण गरेका थिए ।  

    योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् । 

    २०७५ को दशैं र तिहारको बीचमा थापा र लिङ्देनले पाथीभारा मन्दिरमा गएर पार्टी नफुटाउने र सँगै रहने कसम खाएका थिए । ‘तत्कालीन अध्यक्षज्यू थापा र महामन्त्री लिङ्देनले पाथीभारा मन्दिरमा पार्टी नफुटाउने र सँगसँगै रहने कसम खानुभएको थियो’, राप्रपाका एक नेताले न्युज कारखानासँग भने, ‘यसर्थ उहाँले पार्टी फुटाउनु हुन्न होला ।’ 

    थापानिकट एक नेताका अनुसार पनि थापा तत्कालै पार्टी फुटाउने मनस्थितिमा छैनन् । ‘अहिले नै निवर्तमान अध्यक्षज्यूले पार्टी फुटाउने मनस्थिति बनाइसक्नुभएको छैन’, थापानिकट ती नेताले न्युज कारखानालाई भने, ‘थापा र लिङ्देनले सँगै रहने पाथीभारामा कसम पनि खानुभएको थियो । सायद त्यही भएर होला अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन ।’

    पाथीभरा मन्दिरमा नेताद्वय थापा र लिङ्देनले कसम खाएपछि १५–३० फागुन २०७५ मा ताप्लेजुङबाट राप्रपाले मेची-काली स्वाभिमान यात्रा निकालेको थियो । सोही कसम र प्रतिबद्धताले अहिले थापालाई नयाँ पार्टी खोल्न बाधक रहेको नेताहरूको बुझाइ छ । 

    तर, थापा भने आगामी रणनीतिबारे आफूनिकट नवनिर्वाचित पदाधिकारी र सदस्यसहित नेताहरूसँगको छलफल गर्ने तयारीमा छन् । ‘उहाँ (कमल थापा)ले अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन’, थापानिकट ती नेताले भने, ‘तर, आफूनिकटका नेताहरूसँग बसेर अब गर्ने भन्ने विषयमा भने निर्णय लिनेछन् । उहाँ केही दिनमै नवनिर्वाचित पदाधिकारी र सदस्यसहित शीर्षनेताहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने तयारीमा हुनुहुन्छ ।’ 
     


    मंसिर २१, २०७८ मंगलवार १३:२५:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडा नेपाल

    कांग्रेस महाविधेशन : फुटको फाइदा देउवालाई, महामन्त्रीमा प्रभावशाली नेताको प्रतिस्पर्धा !

  • 174
    SHARES
  • कांग्रेस महाविधेशन : फुटको फाइदा देउवालाई, महामन्त्रीमा प्रभावशाली नेताको प्रतिस्पर्धा !

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहुमतका साथ १४ औं अधिवेशनमार्फत पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा रहेका छन्।

    images

    प्रदेश २ का ८ सहित ६१ जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि ६१ जिल्ला र प्रदेश अधिवेशनको परिणाम घोषणा हुँदा देउवा पक्ष पार्टीको आन्तरिक प्रतिस्पर्धामा बहुमतमा रहन सफल भएको हो ।केन्द्रीय निर्वाचन समितिका एक सदस्यले काँग्रेसको आन्तरिक शक्ति सन्तुलनमा यसपटक देउवा शक्तिशाली भएको बताए । ‘सभापतिजीको पक्षमा बहुमत छ । पार्टीभित्र झण्डै ५५ प्रतिशतभन्दा बढी उहाँको पक्षका महाधिवेशन प्रतिनिधिले जितेका छन्, प्रदेशमा पनि बलियो पकड देखिएको छ,’ ती सदस्यले भने ।

    देउवा निर्विकल्प’
    नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । सरकारको नेतृत्व गरेको दल महाधिवेशनको तयारीमा जुटिरहँदा अन्तर्राष्ट्रिय चासो पनि अवश्य हुन्छ । नेपाली राजनीतिक चतुर खेलाडी हुन् काँग्रेस सभापति देउवा । 

    लामो भाषण र बतासे गफभन्दा ‘एक्सन’मा विश्वास गर्ने देउवाले कम्युनिष्ट पार्टीको दुईतिहाइ हुँदा–हुँदै पनि देशको प्रधानमन्त्री हुने अवसर प्राप्त गरे। ‘नेपाली कांग्रेसका लागि विशिष्ट अवसर छ अहिले, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेका नेता देउवा नै हुन्, त्यसैले उनको विकल्प १४ औं महाधिवेशनमा म चाहिँ कल्पना गर्दिनँ,’ कास्कीका एक पुराना नेता तथा महाधिवेशन प्रतिनिधिले भने। कांग्रेसका प्रभावशाली नेताहरू नै देउवाका पक्षमा उभिएपछि सभापति पदमा उनको जीत थप सहज भएको राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेलको धारणा छ । 

    संस्थापनइतरमा फुटै–फुट
    संस्थापन इतर पक्षमा भने महाधिवेशन नजिकिँदै गर्दा झन् कलह र विभाजन चर्किएको छ। सभापति तथा अन्य महत्वपूर्ण पदमा साझा उम्मेदवार बन्ने संभावना छैन।  वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंहलगायत सभापतिका आकाँक्षी भए पनि उनीहरुबीच सहमति बन्न सकेको छैन। एकले अर्कोलाई स्वीकार्ने अवस्था छैन । यसले पनि सभापतिमा देउवालाई थप सजिलो भएको छ। महाधिवेशनको मुखमा आइपुग्दा पनि शभापतिका लागि देउवा इतर समूहले साझा उम्मेदवारी घोषण गर्न सकेको छैन। 

    पहिले नै सभापतिमा उम्मेदवारी घोषण गरेका उपसभापति विमलेन्द्र निधि चुनावी मैदानमा कमजोर देखिएको छ। संस्थापन पक्षले सहयोग गर्ने अवस्था छैन भने संस्थापन इतरसँग सहकार्यको संभावना पनि छैन। उनले आफ्.नो टिम बनाउन सकेका छैनन्। अर्का आकांक्षी कृष्ण प्रसाद सिटौला देउवासँग रणनीतिक सहकार्य गरेर १५ औं महाधिवेशनमा आफ्नो स्पेस सुरक्षित गर्ने दाउमा छन् । 

    महामन्त्रीमा को बलियो ?
    महामन्त्री पदमा थुप्रै आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की,बालकृष्ण खाण, प्रकाशशरण महतलगायतका नेताहरुले उक्त पदमा उम्मेदवारीको तयारी गरेका छन् । कांग्रेसका समकालीन नेताहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की प्रष्ट विचार र समन्वयकारी भूमिकामा सधैँ अग्रस्थानमा रहन्छ । नेपाल विद्यार्थी संघका अध्यक्ष रहेर काम गरेका कार्की काँग्रेस सभापति देउवासँग निकट छन् । उनी संस्थापन पक्षमा रहे पनि गुटबन्दीको घेराभन्दा बाहिर छन् र उनलाई अर्को पक्षले स्वीकार्ने अवस्था छ । 

    अन्य राजनीतिक दलहरूसँग संवाद गर्न होस् या पार्टीको आन्तरिक सांगठानिक समस्या हल गर्न होस् नेता कार्कीको समन्वयकारी भूमिका अपरिहार्यजस्तै छ । नेपाली कांग्रेसका एक नेताका अनुसार मन्त्री कार्कीको शालीन छवि र सबैलाई मिलाएर लैजान सक्ने सामथ्र्यले उनलाई भावी नेतृत्वकै रुपमा हेरिएको छ । पार्टीको सांगठानिक संरचनामा कार्कीको बलियो पकडकै कारण उनी १४ औं महाधिवेशनमा कांग्रेस महामन्त्री पदमा विजयी हुने आधार रहेको ती नेताले बताएका छन् ।

    ‘उर्जा मन्त्रालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयदेखि सञ्चार मन्त्रालयसम्मको जिम्मेवारीका रहँदा ज्ञानेन्द्रबहादुर कार्की कहिल्यै विवादमा पर्नुभएन, बरु कांग्रेसको सरकार बनेपछि प्रतिपक्षमा पुगेर रन्थनिएका केपी ओलीसँग संवादको प्रक्रिया उहाँले नै सुरु गर्नुभयो, त्यसैले पनि उहाँ एक महामन्त्री पक्का हो,’ ती नेताले भने ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक एवं गृहमन्त्री बालकृष्ण खाण पार्टीका शक्तिशाली संगठक हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हाँकेका खाणको कार्यकर्ता पङ्क्तिमा निकै सशक्त प्रभाव छ । गृहमन्त्री खाणले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहँदा कांग्रेस पार्टीका शालीन नेता कार्कीपछि उनी नै रहेको एक काँग्रेस नेताले बताए ।

    कांग्रेस केन्द्रीय सदस्य एवं रक्षामन्त्री मिनेन्द्र रिजाल प्रष्ट वक्ता हुन् । केही महिनाअघि नै कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका रिजाल पार्टीभित्र र बाहिर रुचाइएका नेता हुन् ।लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा सरकारले जारी गरेपछि भारतीय टेलिभिजनमा नेता रिजालले दिएको एक अन्तरवार्ता भाइरल भएको थियो ।

    नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अर्थशास्त्रमा विद्यावाधिरि गरेका छन् । देशको आर्थिक नीतिलाई राम्ररी बुझेका महतले पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पछिल्लो समय पार्टीका प्रभावशाली नेताको रुपमा परिचित छन् । कांग्रेस सभापति देउवाले प्रवक्ताको जिम्मेवारी दिएपछि शर्माले पार्टीका हरेक गतिविधि प्रष्टसँग राख्न थाले । 

    पछिल्लो समय ‘ऐना’ टेलिभिजन शोका प्रस्तोता रहेका शर्माले कांग्रेसको रुपान्तरण र एजेण्डाको विषयमा ‘छहारी संवाद’मार्फत् बहस चलाइरहेका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका शर्माले वीपी जयन्तीका दिन सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    कांग्रेसका चर्चित युवा नेता गगन थापा महामन्त्रीका बलियो उम्मेदवार हुन्। कार्यकर्ता पंक्तिमा लोकप्रिय गगन कुन समूहबाट अघि बढ्ने भन्ने बारेमा अझै टुगो लागेको छैन। स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहँदा कांग्रेस केन्द्रीय सदस्य  थापाले गम्भीर प्रकृतिका रोगको उपचार निःशुल्क गर्न व्यवस्था गरे । जसका कारण उनको लोकप्रियता बृद्धि भयो । मिडियाको बलियो साथ र कांग्रेसलाई माया गर्ने व्यवसायिक जगतको सद्भाव प्राप्त गरेका गगनको उम्मेदवारी अरुका लागि पनि चुनौती हो ।


    मंसिर २१, २०७८ मंगलवार १३:३७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाविधेशन

  • क्यानाडा नेपाल

    सभापतिको साझा उम्मेदवार चयन गर्न पौडेल-कोइराला समूहको बैठक सुरु

  • 106
    SHARES
  • सभापतिको साझा उम्मेदवार चयन गर्न पौडेल-कोइराला समूहको बैठक सुरु

    काठमाडौं - सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ । केही समयअघि मात्र इतर समूहका केन्द्रीय सदस्यहरूसहितको बैठक सुरु भएको हो ।

    images

    बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

    इतर समूहमा सभापतिका आकांक्षी धेरै छन् । पौडेल, सिंह, डा.शेखर र डा.शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचार अभियान नै सुरु भएको छ । इतर समूहमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिल्दा फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । 

    सोहीअनुसार मंगलबार दिउँसो इतर पक्षको बैठक प्रकाशमान निवासमा बसेको हो । अहिले सभापतिसहित पदाधिकारीको टिम कसरी बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ । 
     


    मंसिर २१, २०७८ मंगलवार १३:५९:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भयो, भजनमण्डली बनाउन दिन्नँ'

  • 130
    SHARES
  • 'राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भयो, भजनमण्डली बनाउन दिन्नँ'

    काठमाडौं - राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई आफूले पूर्वराजा ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन नदिने बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै थापाले पार्टीमा पूर्वराजा शाहको हस्तक्षेप रहेको बताए । उनले विज्ञप्तिमा नेतृत्व चयनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेप रहेको भन्दै भर्त्सना र निन्दा पनि गरेका छन् । 

    images

    पूर्वराजा ज्ञानेन्द्रले भजनमण्डली बनाएको राप्रपाका नेतृत्वको चरित्रहत्या गर्ने र भ्रम सृजना गराउने कार्य भएको उनको भनाई छ । राजसंस्थाको मान्यतामा अहिले आफू पनि रहिरहेको  बताए । 

    उनले लेखेका छन् - 'केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाकाबारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ'

    एउटा खेलाडी भएको नाताले हार वा जीतले लागि कुनै अर्थ नलाग्ने भन्दैउनले आफ्नो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन पनि आग्रह गरेका छन् । उनले हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार आफ्नो रगतमा रहेको पनि बताएका छन् । 

    यस्तो छ उनले जारी गरेको विज्ञप्ति :

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

    महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको  स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहनेछ ।

    केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

    मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

    तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।

    नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

    राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

    अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने?

    अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई “भजन मण्डली“ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई “भजन मण्डली“ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं । राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस सुरू हुनेछ ।
     


    मंसिर २१, २०७८ मंगलवार १४:१८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडा नेपाल

    प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन ओलीलाई बारको ज्ञापनपत्र 

  • 132
    SHARES
  • प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन ओलीलाई बारको ज्ञापनपत्र 

    काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    images

    मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका बारका प्रतिनिधिले सो आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गरेका छन् । 

    ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाइसकेका छन् । 


    मंसिर २१, २०७८ मंगलवार १४:४०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश प्रकरण

  • क्यानाडा नेपाल

    राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली 

  • 124
    SHARES
  • राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली 

    काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका १-१० पुससम्म दर्ता गर्नुपर्ने छ ।

    images

    १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने,  नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

    १८-१९ पुसमा निवेदन तथा उजुरीमाथि छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२-२३ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छन् । त्यसपछि तोकिएका मतदान केन्द्रमा १२ माघको बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम आयोगले तय गरेको छ ।


    मंसिर २१, २०७८ मंगलवार १४:५१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा निर्वाचन

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर