• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र 

क्यानाडा नेपाल मंसिर ५ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र 

    संखुवासभा - खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् ।  मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् । 

    images

    अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन्  ।  कक्षा ८ पास गरेपछि अधिकारीलाई प्रहरी–सेनामा जाने सोच पलायो । सानैदेखि बन्दुकसहित युनिफर्ममा हिँडेको देख्दा लोभिन्थे ।  एकदिन सेना बन्छु भन्ने लाग्थ्यो रे खगेन्द्रलाई । उनले कक्षा ८ पास गर्नेबित्तिकै नागरिकता बनाइसकेका थिए । २०५६ सालमा शारदा माविमा कक्षा ९ मा पढ्दै थिए ।

    गाउँघरमा भुसको आगो जस्तै माओवादीको चर्चा हुन थालेको थियो ।  पारिगाउँका बद्रिहाङ लिम्बू गाउँमा आए । उनले माओवादीबारे बताए । माओवादीमा प्रवेश गरे सेना हुन पाउने भनेर फकाए । उनले खोजेको त्यही थियो ।  प्रफुल्ल भए । अनि गाउँस्तरका माओवादी कार्यकर्ता बने । त्यसपछि उनी गाउँका नेता नै भए । 

    गाउँमा हुने विवाद र अन्यायविरुद्ध उनी सक्रिय भए । सामाजिक विकासका काममा पनि अगुवाइ गर्न थाले । बद्रीहाङ लिम्बूको प्रेरणाबाट उनी माओवादी बने ।  बद्रीहाङसहितका अरू नेता आउनेजाने क्रम बढ्न थाल्यो ।  २०५७ सालमा बिमल नामका कार्यकर्ता सिन्धुपाल्चोकबाट आए । उनलाई जिल्लाबारे जानकारी दिने र बाटो देखाउन थाले । अनि विजय साम्पाङ र पदम राई विकास (पूर्वराज्यमन्त्री) का टोली आउन थाले । भेटघाट बाक्लिँदै गयो ।

     २०५७ सालतिर सिद्धकालीमै रातिराति गाउँका युवा जम्मा गरेर तालिम गराउन थाले ।  त्यसपछि पढाइ छोडे । त्यतिबेलासम्म होलटाइमर माओवादी बनिसकेका थिए । अधिकारीले २०५८ सालमा महिमका धनाढ्यको धन्सार फोडेर धान, मकै र कोदो किसानलाई बाँडिदिएको उनी सुनाउँछन् । ‘त्यसपछि पूर्णरूपमा घर छाडेर हिँडेँ ।  काकाको छोरा र मसँगै हिँडेका थियौँ । पछि ऊ सोलखम्बुको भिडन्तबाट बेपत्ता भयो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनी भन्छन् । 

    माओवादी राजनीतिक सेना 

    माओवादी सेना सर्वहारा वर्गको मुक्तिका लागि लड्ने राजनीतिक सेना भनेर प्रशिक्षण दिइन्थ्यो । उनी ठिकै मान्थे । गाउँघरमा धनी–गरिबको विभेद, जातीय विभेद, धार्मिक विभेद र साहु महाजनले गर्ने विभेदबारे तालिममा सिकाइन्थ्यो ।  माओवादीको सरकार आएपछि आमूल परिवर्तन हुने आश्वासन दिइयो । उनीहरूलाई कमाण्डर र कमिश्नारसहितले प्रशिक्षण दिन्थे ।

     पूर्वीकमाण्डका सैन्य कमाण्डर रामबहादुर थापा बादल थिए । संखुवासभामा सैन्य प्रशिक्षण दिन मणि थापा र वर्षमान पुन आएका थिए ।  पाँचथरमा लिम्बूवानको भेलालाई प्रशिक्षण दिन घोडा चढेर प्रचण्ड र बाबुराम भट्टराई आएका थिए । त्यसपछि ओखलढुंगाको रुम्जाटारमा अग्नि सापकोटाले प्रशिक्षण दिए । 

    पहिलो आक्रमण चैनपुर

    माओवादी लडाकु बनेपछि पहिलोपटक ठूलो आक्रमणमा सहभागी हुन उनी चैनपुर गए । २४ वैशाख २०५९ मा  चैनपुरस्थित सशस्त्र प्रहरीको क्याम्प हान्ने रुटको गाइडको काम उनैले जिम्मेवारी निभाए । चैनपुरको क्याम्प हान्न चार समूह तयारी थिए । एउटा समूहमा कम्तीमा १२० जनाभन्दा माथि बढी लडाकु थिए ।  ‘मैले मादीबाट आउने रुटको नेतृत्व गरेको थिएँ’, उनले भने, चैनपुरदेखि केही तलको वरको रूख छेउमा खाजा लुकाएका थियौँ ।’
    सशस्त्र प्रहरीले चैनपुर क्याम्पमा मादीका राजन कार्कीको टोलीलाई समातेर राखेको थियो ।

    उनी पार्टीका पत्रकार थिए । चैनपुर क्याम्प हानेर प्रभाव विस्तारको दाउमा थियो विद्रोही । चैनपुर क्याम्प कब्जा गर्न सके त्यो क्षेत्र नै आफ्नो नियन्त्रणमा आउने विश्वास पार्टीले गरेको थियो । ‘तर, चैनपुर क्याम्प कब्बा गर्न सकेनौँ’, उनले विगत स्मरण गरे ।   त्यसपछि संखुवासभाबाट ११ दिन हिँडेर दोलखा पुगे । रातदिन १८/२० घण्टा हिँड्नुपर्थ्याे ।  त्यसपछि उनी दोलखामै सक्रिय भए । त्यहाँ २ नम्बर कम्पनीका कमाण्डर संखुवासभाकै बाबुराम राई (विवश) थिए ।

    घाइते जिन्दगी

    ‘म पनि त्यही कम्पनीमा परेँ ।  त्यसपछि २०५९ साल कात्तिकमा रौतहटको कर्मैया क्याक्प हान्ने जाने योजना बन्यो । तर, योजना चुहिएपछि सिन्धुलीको भिमान क्याम्पमा हमला भयो’, उनले सरसर्ती सुनाउँदै गए, ‘त्यहाँ २५÷२६ जना साथीहरू मारिए । त्यसपछि ओखलढुंगाको रुम्जाटार क्याम्प हानेँ ।  त्यहाँ म  घाइते भएँ। मेरो दाहिने आँखाले नदेख्ने भयो । देब्रे आँखाको भित्रि रानी कोरिएको छ ।  टाउको र शरीरका विभिन्न भागमा अहिले पनि छर्रा छ ।  त्यहाँबाट पनि निकै समय जनसेनामै काम गरेँ । तर, आँखा नै नदेख्ने भएपछि ठूलो समस्या भयो । काम गर्नै नसकेपछि जिल्ला फर्किएँ । २०६१ देखि जिल्ला कमिटीमा आबद्ध भएर राजनीतिक काम थालेँ ।

    जिल्लामा एरिया सेक्रेटरी (तत्कालीन दुई÷तीन गाविस प्रमुख) भएर बसेँ । शान्तिप्रक्रियापछि नेकपा माओवादी छाडेर मोहन वैद्य किरण समूहमा पुगेँ ।  जिल्लाबाट वैद्यका साथीहरू नेत्रविक्रम चन्द विप्लवतिर जाँदा पनि एक्लै रुँघेर बसेँ । वैद्यले पुनः चुनावमा जाने बताएपछि चित्त नबुझेर पहिले पुनः नेकपा माओवादी पार्टीमै फर्किएँ ।’ अहिले उनी माओवादी कन्द्रे संखुवासभाको सचिवालय सदस्य छन् ।

    मर्ने डर लागेन 

    जनयुद्धका क्रममा सेना प्रहरीको क्याम्प हान्ने भन्ने पूर्वयोजना बनाइन्थ्यो ।  कमाण्डरहरूले राम्ररी सम्झाएर प्रशिक्षण दिन्थे ।  राजनीतिक सेना भएकाले मर्ने र मार्ने भन्ने डर हुन्नथ्यो । कहिल्यै मर्न डर लागेन । क्याम्प हान्न जाने दिन साथीभाइबीच नाचगान र अरू रमाइलो गरिने उनले सुनाए । लडाइँमा जानुअगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो ।  बाँचे भेटौँला मरे मेरो सन्देश घर पुर्‍याइदिनु भन्ने हुन्थ्यो त्यो रेकर्डमा । यदि मरिहाले उक्त रेकर्ड सन्देश उसको घरमा पुर्‍याउने गरिन्थ्यो । लडाइँमा औषधि खाएर जान्छन् भन्ने सुनिन्थ्यो । उनी भन्छन्, ‘तर त्यो सत्य होइन। लडाइँमा जाँदा कहिल्यै औषधि खाएनौँ । घाउचोट लाग्यो भने रगत रोकिने औषधि खान्थ्यौं । 

    जहाँ मरेर बाँचे

    राजेन्द्रकुमार किराती (प्रवेश) जी कमिसार हुनुहुन्थ्यो ।  म एचक्ययु सेक्सन कमाण्डर (जासुस–इन्टेलीजेन्ट) थिएँ ।  पाँचथरको गोपेटारको अप्ठ्यारो गौंडामा एम्बुस राख्ने योजना भयो ।  म एउटा आँखा देख्दिनँ थिएँ ।  एउटा आँखा अलिअलि देख्थेँ । मलाई सेना आउँछ कि भनेर हेर्ने र खबर गर्ने जिम्मा थियो । केही परबाट खुट्टा बजेको संकेत पाएँ ।

     यता साथीलाई खबर गरेँ । तीन/चार घण्टामा पनि एम्बुस गाडेर सक्नुभएन । म राइफल ताक्दै ब्याक सर्दै थिएँ । म भीरको डिलमा आइपुगिसकेछु ।  सेनाले एक्कासि फाइरिङ गर्‍यो । मैले पनि फाइरिङ गरे । तर, तीन राउण्ड हान्नेबित्तिकै राइफल जाम भयो । उता, सेनाको एकजनालाई गोली लागेछ र अलमलियो । म पनि लुकेँ । यता, साथी भागे ।  म भागेर साथीहरूले दिएको संकेत ठाउँमा धेरै समयपछि पुगे ।  भित्र साथी राइफल पनि गुम्यो, मान्छे पनि मर्‍याे भनेर गफ गरिरहेको सुनेँ । सबैले मलाई मर्‍याे भनेर माया मारेका थिए तर जिउँदै पुगेँ । 

    गोपेटार आक्रमण 

    पाँचथरको भोटेगाउँ भन्ने ठाउँमा बिहान तालिम गर्दै थियौँ । विद्यालय गहिरो र एकान्त ठाउँमा थियो । केही तल सेना आएको खबर पाइयो ।  म जासुस थिए ।  म हेर्दै गए ।  सेनाको टोली खाना पकाउँदै रहेछ ।  माथिबाट राइफल पडकाउनुप¥यो भनेर एक्लै गएको थिए ।  तर, मलाई नै सेनाले घेरा हालिसकेको रहेछ । त्यहाँ फाइरिङ भयो ।  म भागे । मलाई साथीहरूको सम्पर्क पुग्न दुई दिन लाग्यो । साथीहरूले फाइरिङमा मर्‍याे भन्ने सोचेछन् । म जिउँदै साथीहरूको सम्पर्कमा पुगे । ओखलढुंगाको रुम्जाटारमा घाइते भएर फर्किँदा खोटाङको बाक्सिलास्थितमा हेल्थपोष्टमा गए ।  फर्केर बजारमा खाना खान लाग्दै थिए । बजारमा फायरिङ भयो । साथीहरूले मलाई मर्‍याे भन्ने सोचेछन् ।

     म ब्याक भएर रुम्जाटार नै फर्किए ।  त्यहाँ सेनाले स्थानीय दुईजनालाई मारेछन् ।  म साथीहरूको सम्पर्कमा पुगे । रुम्जाटार घटनामा घाइते भएपछि एउटा आँखाले नदेख्ने भयो । अर्कोले अलिअलि देखिन्थ्यो ।  आँखाले अत्यन्तै पीडा दियो । यति धेरै दुख्ने कि भनेर साध्य छैन। पार्टी नेताले बेवास्ता गरेको उनी सुनाउँछन् । म सामान्य पार्टी सदस्य मात्रै थिएँ। अहिले बुझ्दा त्यहाँ पनि चाकडी चल्दोरहेछ, उनले सुनाए पदम राई र राजेन्द्र कार्की लगायतका नेतालाई धेरैपटक भने । पठाउन अप्ठेरो छ मात्रै भन्नुभयो तर पठाउनुभएन ।

    आँखा दुखेर अन्यन्तै पीडा भएपछि पार्टी छोडेर घरको पाखोबारी बेचेर उपचार गर्छु भनेर आउन लागेको थिए ।  कमाण्डर हुनुहुन्थ्यो सिन्धुलीका प्रवीन लामा। उनले भारतमा उपचारका लागि पठाए । डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । आँखामा किरा परेको भन्दै औषधि दिन थाल्यो । मेरो आँखाभित्र छर्रा थियो । आँखा झन् नदेख्ने भए ।  त्यसपछि नेपाल फर्किए ।  त्यसपछि फेरि उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पठाए, उनले थपे, डाक्टरले आँखामा छर्रा भएको पत्ता लगाए ।  सबै भिडियो गरेर प्रहरीलाई जिम्मा लगाउने भने सुने । डाक्टरलाई बोलाएर पार्टीले पठाएको हो उपचारका लागि प्रहरीलाई भने राम्रो हुँदैन भनेपछि डाक्टरले भनेनन् । उपचार गरेर फर्किएँ । 

    राहत सुविधामा समेत विभेद

    शान्ति प्रक्रियापछि खुला राजनीतिमा लागे उनी । सशस्त्र युद्धका घाइते अपांगता भएकाहरूलाई नेपाल सरकारबाट २०६५ सालताका एकपटक एक लाख रुपैयाँको प्याकेज पाए । गतवर्षदेखि बालबालिकालाई छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा पेस गरेका थिए । तर, अहिलेसम्म अत्तोपत्तो छैन । गत वर्ष नै स्थानीय शान्ति समितिको सिफारिसमा निःशुल्क स्वास्थ्य चेकजाँचका लागि बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर चेक जाँच गरे । त्योबाहेक अरू केही पाएको छैन । मभन्दा सामान्य घाइते साथीले पनि सहयोगीसहितका मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन्’, उनले भने, ‘मैले नेताको चाकडी नै नगरेकोले नै यस्तो भयो ।’ 

    राजनीतिले पीडा 

    सर्वहारा वर्गको मुक्तिको लागि भनेर जीवन सुम्पिएँ ।   पार्टीभित्र पूर्ण कार्यकर्ता बनेर बस्दा कुनै अछुतो लागेन ।  जब शान्त्रि प्रक्रियापछि पार्टी खुुला राजनीतिमा आयो । त्यसपछि पीडामाथि पीडा मात्रै थियो ।  २०६४ सालमा पार्टीले सरकारको नेतृत्व गरेपछि ठूलो आशा थियो । जनयुद्धका घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर पटकपटक सिंहदरबार धाए । केही सुनुवाइ भएन ।  अहिले घाइते जीवन जीउन बाध्य भएको छु । राजनीतिले पीडा मात्रै दिएको अनुभूति हुन्छ, उनी भन्छन्, पार्टीले हामी जस्ता सोझा कार्यकर्ता प्रयोग मात्रै गरेछ जस्तो लाग्छ । न्युज कारखाना


    मंसिर ५, २०७८ आइतवार १८:०७:५९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # खगेन्द्र अधिकारी

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    टिकापुर बडुवाल हत्या प्रकरण : नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

  • 236
    SHARES
  • टिकापुर बडुवाल हत्या प्रकरण : नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

    धनगढी - ठेक्कापट्टा आफ्नो हातमा पार्ने गुण्डाको समूह निर्माण गरेका कैलालीको चिसापानी क्षेत्रका लोकजंग शाही समूहमा चिसापानीकै जयन्द्र शाह र नवीन रावल संगठित थिए । 

    images

    तर, नवीन र जयन्द्रको मनमुटाबपछि जयन्द्रले छुट्टै ‘ग्याङ’ तयार पारेका थिए । नवीन जयन्द्रको टिमलाई निस्तेज पार्न चाहन्थ्यो । जयन्द्र समूहलाई जहाँपायो त्यही कुट्ने, हेप्ने प्रवृत्ति नवीन समूहको थियो । तर, जयन्द्रलाई त्यो सह्य भएको थिएन ।
     
    जसका कारण जयन्द्र शाहले नवीन रावलको ग्याङलाई ‘बढार्ने’ योजना काठमाडौंमा बसेर बनाउन थाले । त्यसका लागि उनले अर्को आपराधिक समूह (कपिल श्रेष्ठ)सँग सहयोग मागेका थिए । श्रेष्ठ समूह जयन्द्र शाह समूहलाई साथ दिन तयार भयो । त्यसपछि सुरु हुन्छ भूपेन्द्र बडुवाल हत्या प्रकरण काठमाडौंमा बसेर बनाइएको सोही योजना अनुसार जयन्द्र समूह २०७८ कार्तिक १७ गते काठमाडौंबाट धनगढीका लागि मोटर साइकल यात्रामा हिँड्छ । 

    तीन दिन लगाएर कात्तिक २० गते कैलालीको चिसापानी क्षेत्रमा पुगेको सो समूह चिसापानीभन्दा केही पश्चिमतर्फ रहेको लम्कीस्थित मुनमुन होटेलमा बस्छ । २१ र २२ गते उक्त समूहले कैलालीको बर्दगोरियास्थित बौनिया बजारमा रहेको अनुकूल होटेलमा बसेर नवीन रावललाई मार्न उपयुक्त समयको पर्खाइ गर्ने योजना बनाउँछ । 

    कात्तिक २३ गते नवीन रावल लम्कीमा आयोजना भएको फुटबल प्रतियोगितामा सहभागी भएको जानकारी पाएपछि सोही स्थानमा रावललाई मार्ने योजना बन्दछ । तर, सो योजना विफल बन्छ । ‘नवीनलाई खेल स्थलमै मार्ने योजनासहित जयन्द्रले आफ्नो समूहमा रहेका युवालाई बोलाएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने,‘तर जयन्द्रका युवा खेल क्षत्रमा पुग्न अगावै नवीन त्यहाँबाट निस्की सकेका थिए । जसका कारण उनीहरूको पहिलो योजना सफल भएन ।’ टिकापुर गएको भन्ने जानकारीपछि जयन्द्रको समूह पनि  नवीनको खोजीमा टिकापुरतर्फ लागे । 

    तर, टिकापुरमै रहेका नवीन रावलले त्यसको चाल पाइहाले । रावलले पनि तत्कालै आफ्नो ग्याङमा आबद्ध आर्यन, मिहाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन र विकास शेरचनलाई टिकापुरको रोडसाइड क्याफेमा बोलाए । रोडसाइड क्याफेमा जम्मा भएको रावल ग्याङले तत्कालै जयन्द्र ग्याङका सदस्यलाई जहाँ भेट्यो त्यही मार्ने योजना बनाए । सोही दिनको बेलुकापख उनीहरू हतियार सहित जयन्द्र समूहको खोजीमा निष्के । 

    नवीन समूह बलियो हुने देखेपछि बेलुका पख जयन्द्र समूहका युवा टिकापुरबाट फरार भए । तर, सोही समूहका कपिल श्रेष्ठ टिकापुरमै छुटे । टिकापुरमा एक्लिएका कपिलले लम्कीका भूपेन्द्र बडुवाललाई सहयोग माग्छन् । राती भए पनि भूपेन्द्र बडुवाल साथीलाई ल्याउन भन्दै टिकापुरतर्फ लाग्छन् । सोही क्रममा बडुवाल र नवीन समूहका युवाबीच बाटोमा भेट हुन्छ । टिकापुरस्थित जमरा पुल नजिक भूपेन्द्रलाई भेटाएका नवीन समूहका युवाले उनलाई जयन्द्रको समूहलाई सघाएको आरोप लगाउँदै  लखेट्छन् । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भूपेन्द्र बडुवाललाई करिब दुई किलोमिटरसम्म नवीन समूहका युवाले लखेटेका थिए । गुन्डाबाट लखेटिएका भूपेन्द्र टिकापुरस्थित सिद्धार्थ होटेल नजिकै रहेको आफ्नी फुपूको घर जान चाहन्थे । तर, फुपूको घर पुग्न नपाउँदै उनलाई नवीन समूहका युवाले समाते र खुकुरी प्रहार गरी हत्या गरे । उनको पेटमा १ पटक, छातीमा दुई पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि खुकुरी प्रहार गरिएको प्रहरीको भनाई छ । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुकुरी प्रहारबाट मारिएका भूपेन्द्र बडुवाल कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको रेकर्ड छैन । उनी टिकापुरमा अलपत्र परेका साथीलाई लम्कीमा ल्याउनका लागि मात्रै सोतर्फ गएका थिए । 

    घटना स्थलबाट एक बोरा हतियार भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार चक्कु, खुकुरी, खडालगायत धारिला हतियार टिकापुर क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । बडुवाल हत्या भएको स्थानमा पनि खुकुरी भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । 

    प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा बडुवाल हत्या प्रकरणमा २१ जना अभियुक्त बनाइएको उल्लेख छ । हत्यामा संलग्न १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार रहेको विवरणमा उल्लेख छ । लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन् । 

    यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन् । 

    यस्तै लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, चिरञ्जीवी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार छन् ।

    उनीहरूको मोवाइल ट्याक अनुसार हत्या गरेको एक दुई दिनपछि टिकापुरबाट बर्दगोरिया, घोडाघोडी, हुँदै धनगढी उपमहानगरपालिकाको जुगेडा पुगेर भारत लागेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार हाल फरार नवीन रावल र जयन्द्र शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएका थिए । ‘ती मुद्दामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्,’ प्रहरी प्रमुख अधिकारीले भने, '२०७८ भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो, ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ ।’ 

    नवीन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ ।लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३००) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ । यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिब क्षतिपूर्तिको पनि माग गरिएको छ ।मोहन जोशी 


    मंसिर २०, २०७८ सोमवार १९:०३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टिकापुर बडुवाल हत्या प्रकरण

  • क्यानाडा नेपाल

    बैतडीमा जिप दुर्घटना हुँदा ८ जना घाइते,  २ जनाको अवस्था गम्भिर 

  • 144
    SHARES
  • बैतडीमा जिप दुर्घटना हुँदा ८ जना घाइते,  २ जनाको अवस्था गम्भिर 

    काठमाडौं - बैतडीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमबार साझँ पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै जिप सोही नगरपालिका १ सकारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    images

    से १ ज ८८८ नम्बरको उक्त जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् भने दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । घाइते भएका सबैको उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 


    मंसिर २०, २०७८ सोमवार १९:२१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैतडीमा जिप दुर्घटना

  • क्यानाडा नेपाल

    बैतडीमा जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो, एकको अवस्था गम्भीर

  • 238
    SHARES
  • बैतडीमा जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो, एकको अवस्था गम्भीर

    बैतडी - बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ ।पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

    images

    मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् । 

    उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए । 

    पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।  मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ ।

    घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।  

    दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेकाछन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ ।


    मंसिर २०, २०७८ सोमवार १९:४९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैतडीमा जिप दुर्घटना

  • क्यानाडा नेपाल

    नेपाल एयरलाइन्सले पायो पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

  • 236
    SHARES
  • नेपाल एयरलाइन्सले पायो पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

    काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ । निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसार पसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ ।

    images

    निगमको वाइड बडी ए३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतका सामानहरुको ओसारपसारमा सहजता हुनेछ भने उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले विश्वास लिएको छ ।

    उक्त अनुमति पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ ।

    सो अवसरमा पर्यटनमन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र यसले खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने तथा निगमलाई पनि आर्थिकरूपमा नाफा हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले मन्त्रालय र मातहत निकायमा अनावश्यक खर्च कटौती गर्दै आर्थिक मितव्ययिता अपनाएको बताउनुभयो । पर्यटनमन्त्री आलेले अर्बौँको घाटा बेहोरिरहेको निगमलाई वित्तीय सुधार गरी उपलब्ध स्रोत साधनको यथोचित प्रयोग गरेर आर्थिकरूपमा सुदृढ बनाउने दिशामा अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको संस्था हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ, हामी चाहान्छौँ कम भन्दा कम खर्च गरेर नेपाली ध्वजाबाहक जहाज नाफामा जाओस् ।”

    अहिले पनि निगमलाई रु ५० अर्बभन्दा बढी ऋण रहेको छ । नौ प्रतिशत ब्याज तिरिरहनुपर्ने बाध्यता छ । निगमलाई किस्ता तिर्न र ब्याज तिर्न पनि समस्या परिरहेको छ । आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार गर्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । पर्यटनमन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गर्दै प्राधिकरण र निगम दुवै संस्थालाई बधाईसमेत दिनुभयो । 

    प्राधिकरणका महानिर्देशक क्षेत्रीले लामो समयदेखि अड्किएको खतराजन्य वस्तु ओसारपसारसम्बन्धी अनुमति प्राप्त गरेकामा निगमलाई बधाई ज्ञापन गर्दै व्यावहारिक कार्यान्वयमा जोड दिनुभयो ।

    निगमका कार्यकारी अध्यक्ष अधिकारीले विगत ६३ वर्षदेखि हालसम्म निगम जेनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
     
    विगत छ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमका लागि यो सेवाले आर्थिकरूपमा पनि निकै राहत मिल्नेछ । पर्यटनमन्त्रीको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य वस्तु ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।रासस


    मंसिर २०, २०७८ सोमवार २१:३३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्स

  • क्यानाडा नेपाल

    देशका यी स्थानमा आज बर्षा र हिमपातको सम्भावना

  • 148
    SHARES
  • देशका यी स्थानमा आज बर्षा र हिमपातको सम्भावना

    काठमाडौं - सोमवार पहाडी भू-भागमा आंशिक बदली रही थोरै क्षेत्रमा मात्र हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

    images

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    यस्तै आज राति पनि प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

     


    मंसिर २१, २०७८ मंगलवार ०७:४५:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु 

  • 162
    SHARES
  • जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु 

    जाजरकोट - रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएकाे थियाे ।

    प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।


    मंसिर २१, २०७८ मंगलवार ०९:०७:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर