• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

देश अब कम्तीमा चार दिन बजेटविहीन, सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व

क्यानाडा नेपाल भाद्र २९ २०७८
  • 230
    SHARES
  • देश अब कम्तीमा चार दिन बजेटविहीन, सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व

    काठमाडौं - सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ ।अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

    images

    संविधानको धारा ११४ मा संघीय संसद अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । यसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश भोलिदेखि निष्क्रिय हुँदै छ ।

    बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच विधेयकमा छलफल अघि बढेन ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्म अर्थात् ५ दिनका लागि स्थगित गरेका छन् । भोलिबाट बजेट अध्यादेश निष्क्रिय हुँदा त्यसपछि चौथो दिनमा सोमबार बिहान ११ बजे संसद बस्नेछ ।

    यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुनेछ । अर्थात् कम्तीमा चार दिन देश बजेटविहीन हुनेछ । यदि ४ असोजको बैठकले पारित गरेन भने देश थप समय बजेटविहीन हुनेछ ।

    एमालेको अवरोध जारी रहेकै अवस्थामा सभामुखले बजेट विधेयकमाथि छलफल गराउँछन् कि पेलेर पास गराउँछन् भन्ने ४ गते नै थाहा हुनेछ । तर, यो विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घण्टाको समय हुनेछ । संशोधन दर्ता भए विधेयकमाथि छलफल गराउनुपर्नेछ ।

    अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसद पेस गर्दै सकेसम्म सहमतिमा र नभए प्रक्रियाअनुसार (बहुमतका आधारमा) बजेट विधेयक पारित हुने बताइसकेका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले पाँच/सात दिन नियमित सरकारी खर्च रोकिन सक्ने बताए ।

    शर्माको भनाइबाट पनि देश कम्तीमा एक साता बजेटविहीन हुने देखिन्छ । बजेटविहीन हुँदा पेस्की अध्यादेश सरकारले ल्याउन सक्ने अनुमान छ । तर, शर्माले संसद चालू रहेकै अवस्थामा अध्यादेश ल्याउन नमिल्ने र पेस्की खर्च नगर्ने स्पष्ट पारे ।

    कसरी उठ्छ कर ?
    अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताएका थिए । अर्थमन्त्रीले भनेको कर उठाउने विशेष व्यवस्था भनेको सामयिक कर असुल ऐन, २०१२ हो । देश बजेटविहीन भए पनि यो ऐनले छ महिनासम्म कर उठाउने अधिकार सरकारलाई दिएको छ ।

    सरकारले ऐनअन्तर्गत नेपाल राजपत्रमार्फत सूचित आदेश जारी गरेर करको दर घटबढ गर्न सक्छ । 'नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क या अरू कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र जनहितका लागि त्यस्तो भन्सार महसुल या अन्तःशुल्क या अरू कुनै कर तुरुन्त लागाउन वा बढाउन बाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ', ऐनमा भनिएको छ ।

    यदि सूचित आदेशमा घटबढ गरिएको कर पछि विधेयक कानुन बनेर आउँदा थपघट भएमा बढी लिएको छ भने फिर्ता गर्नुपर्ने ऐनमा उल्लेख छ । 'सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकामा पछि कानुनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा पाँच रुपैयाँ फिर्ता दिनुपर्छ', ऐनमा भनिएको छ । न्युज कारखाना


    भाद्र २९, २०७८ मंगलवार १८:५४:०२ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

  • 172
    SHARES
  • बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

    काठमाडौँ - शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

    images

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३९  पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ५ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    mm.jpg


    आश्विन १, २०७८ शुक्रवार ०९:२४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 444
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार तोलामा ७ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा १४ सय रुपैयाले घटेको हो ।  

    images

    बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेर तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।
     
     


    आश्विन १, २०७८ शुक्रवार ११:३३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    बजेटजति अनुदान, त्यही पनि भएन कार्यान्वयन

  • 174
    SHARES
  • बजेटजति अनुदान, त्यही पनि भएन कार्यान्वयन

    काठमाडौं । पोखराको पूरा बजेटमध्ये करिब ४९ प्रतिशत हिस्सा संघ सरकारको अनुदानमा निर्भर छ । गत आर्थिक वर्षमा संघबाट दुई अर्ब ६९ करोड रुपैयाँ संघबाट अनुदान पाउने अनुमान थियो । तर, अनुमानभन्दा कम अनुदान पायो ।

    images

    संघ सरकारले दिने भनिएकोमध्ये ९२ प्रतिशत पाएको छ । प्रदेश सरकारले ६२ प्रतिशत मात्र दियो । प्रदेश सरकारले ११ करोड २९ लाख रुपैयाँ अनुदान दिने भनेकामा ६२ प्रतिशत अर्थात् सात करोड चार लाख रुपैयाँ मात्र दिएको हो । यसको अर्थ पोखरो वित्तीय प्रगति खासै राम्रो छैन ।

    पोखराले सोचेजति आन्तरिक आम्दानी गरेको छैन । पूरा बजेटको ४२ प्रतिशत हिस्सा मात्र आन्तरिक स्रोतमा निर्भर छ । त्यसमा आन्तरिक आय, जनसहभागिता र जिल्ला समन्वय समितिको अनुदानसमेत जोडिन्छ । महानगरले आन्तरिक आयतर्फ दुई अर्ब १८ करोड रुपैयाँ उठाउने अनुमान गरेकामा ८० प्रतिशत मात्र प्रगति हासिल गर्‍यो । यसबाहेक संघ र प्रदेशबाट राजस्व बाँडफाँटतर्फ करिब सात प्रतिशत अर्थात् ३५ करोड रुपैयाँभन्दा बढी प्राप्त गर्ने अनुमानमा २१ प्रतिशत बढी आम्दानी गरेको छ ।

    ३५ करोड रुपैयाँ अनुमानमा ४२ करोड रुपैयाँ आम्दानी राजस्व बाँडफाँटबाट भएको हो । आन्तरिक आयतर्फ सबैभन्दा राम्रो आम्दानी घरजग्गा रजिस्ट्रेसनबाट भएको छ । ६७ करोड ७८ लाख रुपैयाँ रजिस्ट्रेसनबाट आम्दानी गरेको हो ।

    नक्सापास दस्तुर २४ करोड २१ लाख, ढुंगागिटी बालुवाबाट २१ करोड ८० लाख, अन्य राजस्व २१ करोड ५३ लाख, घरबहाल करबाट १२ करोड ६२ लाख, भूमि करबाट १० करोड ९७ लाख, फोहोरमैलाबाट नौ करोड ५० लाख, सम्पत्ति करबाट सात करोड, सवारी करबाट करिब सात करोड र व्यवसाय करबाट छ करोड रुपैयाँ उठाएको छ । मनोरन्जन करबाट भने राजस्व उठाउन सकेन ।

    पोखराको यो प्रगति औसत मात्र हो ।

    ‘पुँजीगत खर्च खासै राम्रो भएन । कार्यालयको क्षमता पनि बढेको छैन । अलिअलि त सुधार भएको छ । अझै राम्रो कसरी बनाउने भन्ने हाम्रो जोड हो’, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले भने, ‘महानगर भइसकेपछि लगातार कोभिडले असर गर्‍यो । यसले प्रगति सन्तोषजनक भएन । गम्भीर समीक्षा गर्नुपर्नेछ ।’ विशेषतः निर्माण व्यवसायीको कमजोरी, बजेट निकासा र अख्तियारी, समयमा टेण्डर हुन नसकेको लगायत कारणले काममा समस्या देखिएको उनले बताए ।

    गत वर्ष चालूमा ८७ प्रतिशत र पुँजीगततर्फ ५० प्रतिशत मात्र खर्च भएको छ । समग्रमा करिब ६९ प्रतिशत खर्च देखिन्छ । विशेषगरी भौतिक पूर्वाधारतर्फको खर्च कमजोर छ । कोभिड र बाढी-पहिरोका कारण सोचेजति खर्च गर्न नसकेको जनप्रतिनिधिहरू बताउँछन् ।

    ‘कोरोना झेलिरहेका थियौँ । अहिले बाढी-पहिरोले उस्तै संकट थप्यो’, महानगरका प्रवक्ता धनबहादुर नेपाली भन्छन्, ‘तथापि, दुई तिहाइ वडा कार्यालय नयाँ भवनमा सरेका छन् । पेपरलेस काम गरिएका छन् । बजेटको खर्च गर्ने क्षमता बढेको छ । यो पोखराको महत्त्वपूर्ण पक्ष हो ।’

    सबै बजेट पूर्ण कार्यान्वयनमा ध्यान दिएको उनले सुनाए । ‘भौतिक पूर्वाधारसँगै आर्थिक र वित्तीय क्षेत्रमा पनि हाम्रो जोड छ । राजस्वका नयाँ आधार तय गर्दै अघि बढेका छौँ । राजस्व वृद्धि गर्ने र वडाको खर्च गर्ने प्रणाली राम्रो बनाएका छौँ’, उनले भने ।

    महानगरमा अघिल्लो आर्थिक वर्षमा ७० करोड ५७ लाख रुपैयाँ बेरुजु निस्किएको छ । त्यसमध्ये ४५ करोड ८७ लाख रुपैयाा असुल गर्नुपर्नेछ भने २२ करोड ७७ लाख रुपैयाँ नियमित गर्नुपर्ने तथा एक करोड ९३ लाख रुपैयाँ पेस्की बेरुजु छ । २०७५/०७६ सम्मको एक अर्ब २६ करोड रुपैयाँ बेरुजु रहेकामा पछिल्लो महालेखापरीक्षकको रिपोर्टअनुसार एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार १३:२१:३६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    उदयपुरमा लगानी गर्नेबारे एनएफसिसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल

  • 242
    SHARES
  • उदयपुरमा लगानी गर्नेबारे एनएफसिसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले स्थानीय उद्योगी व्यवसायीहरूसँग उदयपुरको सदरमुकाम गाईघाटमा भेटघाट गरेका छन् ।

    images

    कोभिडका कारण थलिएको अर्थतन्त्रको असर उदयपुरमा परेको अवस्थामा उदयपुरको छोटो भ्रमणको क्रममा स्थानीय व्यवसायी र उद्योगीहरूको मनोबल बढाउन र वैकल्पिक उपायको खोजीका लागि सल्लाह सुझाव दिन वरिष्ठ उपाध्यक्ष ढकाल उदयपुर आएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

    nkrk3.jpg

    कोभिडको दोस्राे भेरियन्टका कारण लामो समयसम्म रहेको लकडाउनले स्थानीयस्तरमा रहेका उद्योग व्यापार व्यवसाय मारमा परेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा सहकार्य गरेर गर्न सकिने उद्योग व्यवसायको सम्भावनाबारे छलफल गरेका छन् ।

    उदयपुरमा रहेका एक दर्जन बढी निजी बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले स्थानीयस्तरमा लगानी बढाउन चासो राखेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष भगतले बताए ।


    आश्विन १, २०७८ शुक्रवार १३:२६:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

  • 264
    SHARES
  • दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

    न्युज कारखाना । पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित  अलैँची भित्र्याउने चटारो सुरु भएको छ ।  नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । 

    images

    केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले खस्किए पनि किसानहरूमा भने निराश छाएको छैन । तेह्रथुमका अलैँची किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छथर–६ सुदापका जीवन मगर बताउँछन् । 

    अहिले बजारमा अलैँची प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँ खरिद बिक्री हुँदै आएको व्यापारीले बताएका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक,  आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैँची खेती हुँदै आएको छ । 

    सात सय २३ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गर्दै आएका किसानहरूको समस्या समाधनका निम्ति सरकारले गुणस्तरस्तरको मुल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र किसानहरूलाई राहत मिल्ने किसान नारायण लिम्बूले बताए ।


    आश्विन १, २०७८ शुक्रवार १७:५९:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बैंकहरूले बढाए ब्याजदर : कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए ? हेर्नुहोस्

  • 330
    SHARES
  • बैंकहरूले बढाए ब्याजदर : कुन बैंकले कुन खातामा कति प्रतिशत ब्याज दिए ? हेर्नुहोस्

    काठमाडौं  - कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।  

    images

    बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ ।  बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन्  । 

    madhavnepal-jhakri.jpg

    त्यसैगरी एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र  लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् । 

    त्यस्तै बैंक अफ काठमाडौँले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छ«े बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।
     
    बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् । 
     
    बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ ।  तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । 

    madhavnepal-jhakri.jpg

    राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म रु तीन खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा  सात दिनका अवधिको रु  २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको रु ३० अर्ब र भदौ ३१ मा रु २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।रासस  


    आश्विन १, २०७८ शुक्रवार १८:४३:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैंक
  • # ब्याजदर

  • क्यानाडा नेपाल