श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

माधव नेपालले अध्यक्ष पदको लागि बार्गेनिंग गर्दा एमाले पार्टी फुटेको हो : दुर्गा प्रसाईं



काठमाडौं । नेकपा एमाले फुटाएर माधव कुमार नेपालले नयाँ दल दर्ता गरेका छन् । आज निर्वाचन आयोगमा माधव नेपाल पक्षका नेताहरु सनाखत गर्न जाँदैछन् । माधव नेपालले केपी ओलीको कार्यशैलीले गरेर पार्टी परित्याग गर्नुपरेको आरोप लाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग निकट रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीसंग पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि माधव कुमार नेपालको लडाईलाई नजिकबाट नियालेका छन् । केपी ओलीसंग निकट रहेका प्रसाईंले पार्टी भित्रको द्वन्दको बारेमा अध्यक्ष ओलीसंग छलफल समेत गरेका थिए । खास किन माधव नेपालले एमाले छोडेर नयाँ पार्टी दर्ता गर्नुपर्यो भन्ने बारे प्रसाईंले टिप्पणी गरेका छन् ।

क्यानडा नेपालको प्रस्तुति ‘सार्थक प्रश्न’ मा कुराकानी गर्दै दुर्गा प्रसाईंले भने, “माधव नेपालले बाहिर बाहिर विधि पद्धतिको ठूलो ठूलो कुरा गरेपनि भित्रि कुरा वहाँ आफै नियम मिचेर अध्यक्ष पद खोजेकोले यो समस्या आएको हो । केपी ओलीले महाधिवेसन जितेर अध्यक्ष हुनुभएको हो अनि हारेको मान्छेले अहिले बार्गेनिंग गरेर अध्यक्ष पद माग्दा केपी ओलीले कहाँ दिनुहुन्छ त । “

व्यवसायी प्रसाईले भने, “माधव नेपालले हरेक तरिकाबाट अध्यक्ष पदको लागि केपी ओलीलाई गलाउन खोजे तर निर्वाचित अध्यक्षले हारेको मान्छेलाई अध्यक्ष कहाँ छोड्नुहुन्छ त । केपी ओलीले म संग पनि भन्नुभएको छ बरु महाधिवेसनमा जान्छु जित्न सके लागे हुन्छ अध्यक्ष पद भन्नु भएको छ । यो भन्दा उद्दार भावना अध्यक्ष ओलीले के प्रस्तुत गर्नु ?”

दुर्गा प्रसाईंका अनुसार माधव नेपालले नयाँ दल खोलेर अहिले सरकारमा जान पाउनुहोला तर भविष्यको राजनीति अब सकिएको छ । माधव नेपालले अध्यक्ष पदको लागि लडेको भन्ने थाहा पाएपछि भीम रावल जस्ता नेताहरुले साथ नदिएको प्रसाईंले उल्लेख गरेका छन् । 

केपी ओलीले प्रचण्डसंग फेरि पार्टी एकीकरण गरेर अगाडी बढ्ने प्रस्ताव राख्दा प्रचण्डलाई सहि सल्लाह नदिएपछि दुई पार्टी एकीकरण नभएको समेत दुर्गा प्रसाईंले बताएका छन् । देश विकासको लागि भिजन भएको नेता चाहिन्छ र अहिलेको सन्दर्भमा केपी ओलीमा मात्र विकासको भिजन रहेको दुर्गा प्रसाईंको ठम्याई रहेको छ ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ४ : १४ बजे