• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

एउटा खोपका लागि वृद्ध राईले गरेको सङ्घर्षको कथा - नागरिकता बुझाएको छु, हाम्रो पालो आउँदैन रे ?

श्रावण २० २०७८
  • 778
    SHARES
  • एउटा खोपका लागि वृद्ध राईले गरेको सङ्घर्षको कथा -  नागरिकता बुझाएको छु, हाम्रो पालो आउँदैन रे ?

    फिदिम - कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले यो खोप पाए तर कतिपयले खोप लगाउन वास्ता गरेनन् । कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन् । कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन् ।

    images

    कोभिड–१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन । गाउँमा निकै न्यून सङ्क्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडि बढ्यो । दोस्रो लहरको प्रभाव भने निकै गहिरो भयो । तीन हजार ३०० भन्दा बढी जिल्लावासी दोस्रो लहरबाट सङ्क्रमित भइसक्दा गाउँ–बस्तीहरुको धारणा बदलिएको छ । गाउँभरि मान्छेहरु बिरामी पर्ने, सामान्य औषधिसमेत नपाइने र कोभिड–१९ सङ्क्रमणको महामारीले आतङ्कको स्वरूप लिएपछि मानिसहरु थोरै भए पनि सचेत हुनेतर्फ लागे ।

    दोस्रो लहरले ल्याएको आतङ्कले आम मानिसमा कोभिड–१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो । त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । गएको शनिबारदेखि मङ्गलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए तर यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिनुभयो ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुन्नुभएको रहेछ ।

    सोमबार दिउँसो करिब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थान छेउ अन्य ज्येष्ठ नागरिकसँग भेटिनुभयो उहाँ । बिहान ११ बजेतिर खोप केन्द्र आई नागरिकताको प्रमाणपत्र बुझाउनुभएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोच्नुभएको रहेछ तर पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्त राईसँगै उहाँ कहिले खोप लगाएको ठाउँ पुग्नुभयो त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोकाअघि ।

    “अघि ११–१२ बजेतिर आएको थिएँ । नागरिकता पनि बुझाएको छु । पानी पर्न आँटिसक्यो । हाम्रो पालो आउँदैन रे ?”, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भन्नुभयो, “अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके । हाम्रो पालो किन आएन ? बुझिदिनुस् न ।”

    पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिरहेको थियो । स्वास्थ्य कार्यालय परिसरमा ठेलमठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए तर डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षितरूपमा घर पुग्नु भन्ने चिन्ता थियो । पानी परिरहने, घर जाने बाटोमा छेउभित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो । उहाँ घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्नुहुन्थ्यो त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्नुहुन्थ्यो तर ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दासमेत उहाँको पालो आएन ।

    हुन् त उहाँको पालो आओस् पनि कसरी ? उहाँको नाम कागजमा टिपेर सुटुक्क भित्र पु¥याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन । उहाँले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उहाँलाई नै चिन्थे । चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी । गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिएन । अरूलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिने भन्ने चिन्ता थियो ।

    सुरुमा बूढापाकाले खोप पाउने हो भन्ने सुन्नुभएका उहाँ सबै आशा मरेपछि “नागरिकता फिर्ता पाइयो भने घर लाग्छु” भन्दै स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बस्नु भयो । उहाँसँगै थिए श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम–४ का पदमबहादुर चौहानलगायत आठ–दशजना ज्येष्ठ नागरिक ।

    स्वास्थ्य कार्यालयभित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रबन्धका लागि बसेकाहरुले खोप सकियो भन्ने सन्देश बाहिर पठाए । त्यही बेला ढोकामा ज्येष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए । उनीहरु न अरू जस्तो उफ्रिन र जोरजबर्जस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै । ‘निरीह’ ज्येष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन ।

    खोप सकियो भन्ने सुनेपछि रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै हुनुहुन्थ्यो । यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो । “घण्टौँदेखि ढोकामा बसेका बा–आमालाई कसरी खोप दिँदैनौ हेरौँ त !” बाहिर आवाज उठ्यो । न मापदण्ड र उमेर समूह नै । पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे । हस्याङफस्याङ रामकुमार, श्रीभक्त, पदमबहादुरसहितका ज्येष्ठ नागरिकहरुलाई खोप दिइयो । अब त ज्येष्ठ नागरिकहरुले न पालो पर्खनु प¥यो, न लाइन नै लाग्नु ।

    “बाबु अन्तिममै भए पनि सुई लगाउन पाएँ”, खोप लगाएपछि रामकुमारले भन्नुभयो, “पानी झर्न लाग्यो । हामी चाहिँँ लाग्यौँ है ।”

    सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरुले सहजै खोप पाउनुपर्ने हो तर जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरूले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान् ? उनीहरुलाई कसले सही सन्देश पु¥याइदेला ? अरू विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता ज्येष्ठ नागरिकहरु कहिले पुग्लान् ? खोप कुरिरहेकाहरुका प्रश्न थिए ।रासस


    श्रावण २०, २०७८ बुधवार १३:१४:०९ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    सीमामा सधैँ एसएसबीको ज्यादती, किन मौन छ सरकार ?

  • 232
    SHARES
  • सीमामा सधैँ एसएसबीको ज्यादती, किन मौन छ सरकार ?

    काठमाडौँ - नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी)को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ । नागरिकस्तरबाट विरोधको स्वर आएपछि ‘कूटनीतिक नोट’ लेख्ने गरे पनि भारतसँगको सीमामा हुने ज्यादतीमा नेपाल सरकारले कहिल्यै ध्यान दिन सकेको छैन ।

    images

    भारतीय एसएसबीको ज्यादतीको सिकार पछिल्लो समय दार्चुलाका जयसिंह धामी बने । तुइन तर्ने क्रममा एसएसबीको टोलीले तुइनको डोरी काटिदिएपछि धामी महाकाली नदीमा बेपत्ता भए । सुरुमा धामीको मृत्युको विषयमा मौन बसेको सरकार नागरिक तहबाट विरोधको स्वर बुलन्द भएपछि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानविन समिति गठन गर्न बाध्य भयो । छानविन समितिले एक महिना लगाएर बनाएको प्रतिवेनदको आधारमा नेपालस्थित भारतीय दूतावासमार्फत् ‘कूटनीतिक नोट’ पठायो । तर, कूटनीतिक नोटको जवाफ भारतले नपठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन् । 

    सीमामा हुने यस्ता घटना नागरिकको मृत्यु भएको खण्डमा मात्र राजधानी काठमाडौंसम्म आइपुग्छन् । अन्य घटना त सीमामा विलिन भइरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रमा मृत्यु हुने धामी मात्र होइन यसअघि २६ फागुन २०७२ मा एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई नेपाल सरकारले सहिद त घोषणा ग¥यो । तर, सो घटनामा संलग्न भारतको एसएसबीको विषयमा कुनै छानविन भएन । 

    भारतको एसएसबीले नेपाली सीमाभित्र पसेर कल्भर्ट निर्माणको क्रममा कञ्चनपुर सीमा क्षेत्रका स्थानीयले विरोध जनाए । सुरुमा एसएसबीले कुटपिट गरे पनि दोस्रो पटक भूमि रक्षाका लागि विरोध गर्दा एसएसबीले गोली चलाए । गोली लागेर गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।

    सो घटनाको विषयमा भारतलाई नेपालले कूटनीतिक नोट लेख्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको थियो । घटना भएको ६ वर्ष वित्न लाग्यो, न भारत सरकारले एसएसबीलाई कारबाही गर्‍यो, न छानविन प्रक्रिया नै अगाडि बढायो । भारतको हेपाह प्रवृतिले निरन्तरता पाइरहेको छ । 

    ९ मंसिर २०७२ मा सुनसरीको हरिहरपुरमा एसएसबीका जवानहरू नेपाल प्रवेश गरे । विना अनुमति नेपाल प्रवेश गरेका उनीहरूले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाए । गोली लागेर सुनसरीका सरोज यादव, नरेश यादव, मनोज यादव, अशोक यादव घाइते भएका थिए । त्यतिबेलाको घटनामा नेपालले भारतसँग प्रश्न गर्नसमेत सकेन । बोरु उल्टै भारतले नेपालीहरूलाई तस्कर भएको आरोप लगाए । सरकारले घाइते भएकाहरूलाई क्षतिपूर्तिसमेत दिएनन् । 

    १३ मंसिर २०७२ मा झापाको केचनामा भारतीय एसएसबी विनाअनुमति नेपाल प्रवेश गरे । स्थानीयले विरोध जनाएपछि उनीहरूलाई नेपाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भारत पठायो । सो विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग स्पष्ट रुपमा प्रश्न उठाउन सकेन ।

    एसएसबीले अपहरण गरेर लगेका अहिलेसम्म बेपत्ता
    सीमामा एसएसबीले गोली हानेर नेपाली नागरिकको हत्या मात्र होइन अपहरण गरेर लगेर बेपत्ता बनाएको घटना पनि छन् । ५ चैत २०६७ मा बर्दियाको जुमनीका हर्कबहादुर शाहीलाई एसएसबीले गोली हानेर घाइते बनाए । नेपाली भूमिमा आएर गोली हानी घाइते बनाइएका शाहीलाई एसएसबीले लगे । सो घटनाको विषयमा परिवारले प्रशासनलाई हार गुहार गर्‍यो ।

    तर, प्रशासनको केही लागेन । सो घटनाको विषयमा अनुगमनपछि राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष थियो– शाहीलाई एसएसबीले अपहरण गरेर लगेका हुन् । तर, सो घटनाको विषयमा न नेपाल सरकारले भारतलाई प्रश्न गर्न सक्यो न अहिले उनको खोजखबर नै भएको छ । 

    यस्तै प्रकृतिको अर्को घटना हो, बर्दियामा विना अनुमति नेपाल प्रवेश गरेर एसएसबीले बर्दिया मनिकापुरका जग्गु चौधरीलाई सानोश्रीबाट पक्राउ गरी लगेको आठ वर्ष बित्यो । उनको अहिलेसम्म खोजखबर छैन । घटनाको जानकारी स्थानीय प्रशासनदेखि नेपाल सरकारसम्मलाई छ । तर, चौधरीको अबस्था के–कस्तो छ, अहिलेसम्म अज्ञात छ । सरकारले भारतसँग आफ्नो नागरिकको विषयमा चासोसमेत राख्न सकेको देखिँदैन । 

    किन नेपाल हरेक घटनामा गम्भीर बन्दैन
    हरेक घटनामा नेपालले ढिला गरेर मात्र भारतलाई कूटनीतिक नोट पठाउने गरेको छ । यि माथिका प्रतिनिधि सबै घटनमा नेपाल सरकार गम्भीर भएको देखिँदैन । उता भारत भने आफ्नो नागरिकलाई केही भएमा नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधर जवाफ माग्ने गरेको छ ।

    जसको पछिल्लो उदाहरण हो, २०७२ असोजमा संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको क्रममा वीरगञ्जमा भारतका एक नागरिकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो । आफ्नो नागरिकको गोली लागेर मृत्यु भएको एक घण्टाको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर जवाफ मागेका थिए । 

    किन दोहोरिरहन्छ घटना ?
    सीमा क्षेत्रमा देखिएको घटना बारम्बार दोहोरिनुमा नेपाल सरकार जिम्मेवार बन्नुपर्ने पूर्वराजदूत भेषबहादुर थापाको भनाइ छ । ‘नेपालको आन्तरिक शासन पद्धतिमा सुधार नभएसम्म यस्तो घटना दोहोरिन सक्छन्’, उनले भने, ‘नेपाली राजनीतिक दलहरूले परराष्ट्र मामिलामा एउटा साझा धारणा बनाउनु जरुरी छ ।’

    राजनीतिक दलका नेताहरू सरकारमा हुँदा या नहँुदा पनि परराष्ट्र मामिलाको विषयमा सधै समान धारणा बनाउन सके यो समस्या केही हदसम्म हल हुने परराष्ट्रका जानकारहरू बताउँछन् । सीमा समस्याको विषयमा नेपालबाट उच्चस्तरीय भ्रमणका बेला भारत सरकारसँग स्पष्ट राख्न नसक्नुले पनि समस्या भइरहेको छ । न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार २०:१९:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सीमा विवाद
  • # सीमामा तनाव

  • क्यानाडा नेपाल

    १४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

  • 218
    SHARES
  • १४ वर्षीया किशोरीमाथि सामूहिक बलाकार, एक जना पक्राउ

    दाङ - दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

    images

    सुनार र तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँको एक कटेजको कोठामा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार २१:०७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडा नेपाल

    नेपाल-चीन सीमा विवाद : लिमी लाप्चामा सीमा स्तम्भको अध्ययन गरेर हिल्सामा समिति

  • 226
    SHARES
  • नेपाल-चीन सीमा विवाद : लिमी लाप्चामा सीमा स्तम्भको अध्ययन गरेर हिल्सामा समिति

    सिमकोट - नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।

    images

    सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । नाम्खा गाउँपालिका वडा ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो ।

    गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्यहरु र नाम्खा गाउँपालिका वडा ६ का स्थानीय लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमा स्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् ।

    हुम्ला आएकामा संयोजक आचार्यसँग सदस्यहरू उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् ।
    नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ ।

    नाम्खाको वडा ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीय टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमा स्तम्भमा पुगेका थिए । अध्ययन समितिको टोली लाप्चा अध्ययन गरी हिल्सा पुगेका हुन् । उक्त टोली २७ भदौमा सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो ।

    हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले बताए ।न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार २१:४१:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सीमा विवाद

  • क्यानाडा नेपाल

    आज दिनभरको मौसम कस्तो रहला ?

  • 140
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । शनिबार देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 
     


    आश्विन २, २०७८ शनिवार ०७:३८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    बर्दियामा बँदेल मार्न राखिएको विद्युतीय पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

  • 218
    SHARES
  • बर्दियामा बँदेल मार्न राखिएको विद्युतीय पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

    काठमाडौं - बर्दियामा विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा ३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारु रहेका छन् । 

    images

    उनीहरुको गए राति बँदेल मार्न राखिएको विद्युतीय करेन्टको पासोमा परेर मृत्यु भएको हो । प्रहरीका अनुसार धान खेतमा बँदेल मार्न राखिएको पासोमा पहिले एक जनालाई करेन्ट लागेको र अरु दुई जना बचाउँन जाँदा उनीहरुलाई पनि करेन्ट लागेको हो । 

    विद्युतीय करेन्टको पासो थाप्ने राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  


    आश्विन २, २०७८ शनिवार ०८:०६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बर्दिया

  • क्यानाडा नेपाल

    हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयार - प्रधानसेनापति शर्मा

  • 102
    SHARES
  • हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयार - प्रधानसेनापति शर्मा

    काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा भेटघाट गर्नुभएको छ । सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images

    उहाँले सैनिक श्रीमती सङ्घद्वारा सञ्चालीत व्यावसायिक तथा सीपमूलक तालिमबाट ज्ञान लिई उद्यमशिल कर्जा सुविधाको उपभोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।

    प्रधानसेनापति शर्माले सङ्गठनको नेतृत्व लिएपछि पहिलो सम्बोधनमा वीरगती प्राप्त परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई अवसर र सेवा सुविधाको सीमा बढाउने विषयलाई प्राथमिकतामा दिने घोषणा गर्नुभएको थियो ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त समूहमा रहेका ८०० एकल महिलालाई सेनाले पारिवारिक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार प्रदान गरिने छ । कर्तव्यपालना शीर्षकमा यही असोजदेखि दुई हजार ५०० र वीरगतीतर्फ मासिक रु तीन हजार ५०० प्रदान गरिने सेनाले जनाएको छ ।रासस


    आश्विन २, २०७८ शनिवार ०९:०४:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभुराम शर्मा

  • क्यानाडा नेपाल