काठमाडौं । नेकपा माओवादीको कारबाहीमा परेका एमालेका चार नेताहरुले आफूहरुलाई माओवादीमै पुनर्वहाली गर्न माग गर्दै दायर गरेका रिटमाथिको शुक्रबारको सुनुवाइ स्थगित भएको छ ।
माओवादी त्यागेर एमालेका विभिन्न समितिका सदस्य भएका र माओवादीलाई अवैधानिक पार्टी भएको निर्वाचन आयोगमा उजुरीसमेत दिएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरी पुनर्वहालीको माग राखेर सर्वाेच्च अदालत पुगेका हुन् ।
उनीहरुको रिट निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, रिट निवेदकका कानुन व्यवसायीका कारण शुक्रबारको सुनुवाइ स्थगित भएको सर्वाेच्च अदालतले जनाएको छ ।
रिट निवेदक पक्षका वकिलहरूले आफूहरुलाई ज्वरो आएका कारण देखाउँदै सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि शुक्रबारको सुनुवाइ स्थगित भएको हो ।
‘ज्वरोका कारण बहस गर्न नसकिने हुँदा काबुबाहिरको परिस्थिति सृजना भएको भन्दै स्थगित गरी पाउँ भन्दै उनीहरुले निवेदन दिएका थिए ।
साविक नेकपामा हुँदा ओली समूहमा लागेका रायमाझी, भट्ट, साह, चौधरी, रामबहादुर थापा बादलसहितका माओवादीका नेताहरु एमाले ब्यूँतिएपछि उनीहरु एमालेमै रहे ।
आफ्नो पार्टीमा नफर्किएपछि माओवादीले उनीहरुलाई संघीय संसद सदस्यबाट हटाएको थियो । अहिले बादलबाहेक चार जना नेता संघीय सांसद सदस्यमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च अदालत पुगेका हुन् ।
प्रतिक्रिया