श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

जनादेशबाट बनेकाे सरकार ढालेर परमादेशकाे सरकार चल्दैन : सूर्य थापा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले परमादेशकाे सरकार चल्दैन भन्ने तर्क प्रस्तुत गरेका छन् ।

आज सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । यहि विषयमा टिप्पणी गर्दै सूर्य थापाले भने, “जनादेशबाट बनेको सरकार ढालेर अहिले परमादेशबाट सरकार बनाईदैछ । जनादेशको सरकार ढालेर परमादेशकाे सरकारले न देश विकास गर्न सक्छ न नै यो लामो समय चल्न सक्छ ।”

नेता थापाका अनुसार सर्वोच्च अदालतको फैसला गलत छ र यो फैसलामा राजनीति मिसिएको छ । नेता थापाले भने “पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ठाउँ ठाउँमा बोलेको कुरा नै अदालतले फैसला गर्नुमा शंकाको घेरामा छ । अदालतको फैसलामा राजनीति मिसिएको देखिन्छ तर हामी अदालतको फैसलालाई मान्न तयार छौं । तर परमादेशको सरकारले गर्ने क्षति बिस्तारी जनताले बुझ्ने छन् ।”

२३ सिट जितेको शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री बनाउन परमादेश दिनु शंकाको घेरामा रहेको टिप्पणी नेता थापाको रहेको छ । संविधान विरुद्द भएको फैसला र बन्ने सरकारले ठूलो क्षति हुने तर्क नेता थापाले प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अबको कदम के हुन्छ भन्ने बारे सूर्य थापाले भने, “प्रधानमन्त्रीलाई यो फैसला चित्त बुझेको त छैन तर अदालतको फैसला विरुद्द कुनै अप्रिय कदम चाल्नु हुन्न । प्रधानमन्त्री सर्वोच्चको फैसला अनुसार अघि बढ्नु हुन्छ ।”

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ५ : ३५ बजे