श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

देउवालाई निधिको टक्कर : सभापति बन्ने चाहना कि कोइराला र सिंहको नाडी छाम्ने उद्देश्य ?



काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनको चटारोमा छ । एकातर्फ राष्ट्रिय राजनीतिले दिएको सरकारको नेतृत्व गर्ने अवसर साकार बनाउनु पर्ने सकसमा सभापति शेरबहादुर देउवा छन् भने अर्काे पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको छ । 

यसबीचमा तीन दशकभन्दा लामो समयदेखि सहकार्य र साथ दिँदै आएका विमलेन्द्र निधिले सभापतिमा देउवालाई टक्कर दिन थालेका छन् । 

यसका लागि शशांक कोइराला र प्रकाशमान सिंहसँग पटक पटक भेटेर निधिले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । यस्तै कोइराला र सिंहले पनि आफूहरु पनि सभापतिको दाबेदारी रहेकाले यसपटक सहयोग गर्न भनेका छन् । 

तर, यी घटनालाई दुई फरक फरक कोणबाट हेरिएको छ । पहिलो कांग्रेसमा अब युवा नेतृत्वमा आउनुपर्ने आवाज उठिरहेको छ । देउवाले कांग्रेसको नेतृत्वमा रहेको वर्षाैं भइसक्यो ।

अब उनले नेतृत्वबाट बिश्राम लिनुपर्ने र आफूहलाई उत्तराधिकारीको रुपमा सभापतिमा निर्वाचित गराउनुपर्ने निधिको सोच रहेको छ । यसका लागि आफैं पहल गर्न थालेका निधिले कोइराला र सिंहसँग भेटवार्ता गरेका हुन् । 

सार्वजनिक गरिएको महाधिवेशनको कार्यतालिकाअनुसार आउँदो भदौ १६देखि १९ गतेसम्म हुने छ । दुई महिना अघिबाट आ–आफ्नो प्यानल बनाउन नेताहरुको लागि परेको देखिन्छ ।

सबैभन्दा सक्रिय रुपमा लागेको निधिले कोइराला र सिंह परिवारबाट सहयोग भएमा आफू सभापतिमा निर्वाचित हुने आशा राखेका छन् । तर, कोइराला र सिंह परिवारबाट सभापतिको दाबेदारी आइरहेको छ ।

मनोनयन दर्ता अघिसम्म कोे कता भन्ने देखिए पनि अन्तिममा समीकरण परिवर्तन हुन सक्छ । यसर्थ कुन प्यानलबाट कसको कुन पदमा उम्मेदवारी पर्ला भन्नेमा मनोनयन  दर्तासम्मै कुर्नु पर्ने हुन्छ । 

तर, यसअघि देखिने क्रियाकलापले पनि अनुमान लगाउन भने सकिन्छ । अहिले निधिको सभापति बन्ने चाहनाले कोइराला र सिंहसँगका निरन्तर वार्तामा रहेका हुन् । 

यस्तै निधिको सक्रियतालाई अर्कोे पाटोबाट पनि हेरिएको छ । उम्मेदवार मनोनयन दर्ता अघिसम्म ज–जसले दाबेदारी प्रस्तुत गरे पनि अन्तिम भने होइन । यसर्थ निधिको सभापतिमाथि दाबी गर्दै भइरहेका गतिविधि देउवालाई सभापतिमा जिताउन प्रतिस्पर्धी समूहको नाडी छामेका हुन् ।

तीन दशकभन्दा लामो समयदेखि साथ दिँदै आएका निधिले अहिले सभापतिमा देउवाविरुद्ध उम्मेदवारी दिन नसक्ने धेरैको बुुझाइ छ । 

सरकारको नेतृत्व गर्ने पार्टीले पाएको अवसर सदुपयोग गर्न सभापति देउवा सक्रिय हुनु परेकाले महाधिवेशन लक्षित रणनीति बुन्न स्वयं देउवाले निधिलाई अघि सारेका हुन् ।

प्रतिस्पर्धी समूहको रणनीतिलाई बुुझ्नलाई निधिलाई देउवाले नै सक्रिय बनाएको हुन र अन्तिममा निधिकै सहयोगमा देउवा सभापतिमा उम्मेदवारी दिने तर्कहरु पनि आइरहेका छन् । तर, निधिले आफू सभापतिमै उम्मेदवारी दिने बताएका छन् । 

प्रकाशित मिति : असार १३, २०७८ आइतबार  ५ : ४४ बजे