बिहीबार
२७ चैत
२०७६

प्रहरीमा ‘बुढी मरी भन्दा पनि काल पल्केकोमा’ धेरैलाई चिन्ता, कसैलाई उत्तेजित बनाएर भिडियो खिच्न पाइन्छ ?

मंगलबार मङ्सिर ३, २०७६/ Tuesday 11-19-19

काठमाडौं । प्रहरी कसैविरुद्ध नियोजित रुपमा लागेको भन्दै आममानिस चिन्तित हुन लागेका छन् । पछिल्लोपटक प्रहरीका अनुसन्धान र त्यसका प्रमाण सामाजिक सञ्जालमा पोष्ट गर्ने वा सञ्चारमाध्यमबाट बाहिर ल्याउँदा अदालतबाट फैसला हुनुअघि नै भीडबाट अपराधी कायम गराउने प्रवृत्ति बढेको भन्दै चिन्ता जनाउन थालिएको हो ।
यसको पछिल्लो उदाहरण हो, रौतहट २ का सांसद मोहम्मद आफ्ताव आलम पक्राउका क्रममा खिचिएको भिडियो सार्वजनिक गर्नु र सञ्चारमाध्यमलाई उपलब्ध गराउनु ।


१२ वर्षअघि भएको भनिएको बम विस्फोट र विस्फोटमा परेका घाइतेको हत्या गरेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाएको छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहँदा प्रहरीले आलम पक्राउ गरेर गाडीमा राखेर प्रहरी कार्यालय लैजाँदा खिचेको भिडियो सार्वजनिक गर्दै आफ्नै आचार संहिता उल्लंघन गरेको आरोप लागेको छ ।
पहिला उत्तेजित बनाएर आलमलाई बोल्न लगाएको र प्रहरीले आलमलाई थाहै नदिर्इ लिएको सो भिडियो सार्वजनिक गर्नु प्रहरीको नियतमाथि शंका उत्पन्न भएको छ । आलम दोषी देखिए जेल जानुपर्छ । तर, न्यायालयबाट दोषी सावित हुनुअघि नै भीडबाट अपराधी सावित गराउन खोज्नु प्रहरीकै आचार संहिता र कानुनविरपरीत रहेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

सो भिडियो सार्वजनिक गरेपछि दुईथरीका विचार आइरहेका छन् । कसैले राम्रो भनेका छन् भने कोहीले प्रहरीबाट आफ्नै आचारसंहिता र कानुनविपरीत कार्य भएको टिप्पणी गरेका छन् । ‘आवेश र उत्तेजित अवस्थामा कसैले वेद पढ्दैन’ भने जस्तै आलमले आक्रोशित हुँदै धम्की दिएको भिडियो देखिन्छ । तर, त्यसअघि प्रहरीले उनलाई आक्रोशित बनाएर गोप्य रुपमा भिडियो खिचेको आलम परिवारको दाबी छ । प्रहरीले आलमसहित उनको परिवारलाई नै आतंककारीको जस्तो व्यवहार गरेको भन्दै आलम परिवारका सदस्यले गुनासो गरेका छन् ।  

प्रहरीको भ्यानभित्रै उत्तेजित बनाएर दोस्रो आलमलाई थाहै नदिइ भिडियो खिचेर न्यायालयको बुझाउनुको सट्टा सार्वजनिक गर्ने प्रहरीको कार्यले प्रहरीमा ‘बुढी मरी भन्दा पनि काल पल्केकोमा’ चिन्ता बढेको छ । कसैको हत्या गर्नु अपराध हो । यदि अलाम न्यायालयबाट अपराधी सावित भएमा उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ । तर, न्यायालयमा यसबारे मुद्दा चलिरहँदा प्रहरीले न्यायिक बाटोभन्दा भीडको बाटो अपनाउनु कानुनी राज्यको उपहास भएको भन्दै आममानिसले सामाजिक सञ्जालबाट चिन्ता जनाउन थालेका छन् ।

प्रहरीको यो हर्कतले अब कोही व्यक्ति पनि प्रहरीसँग नै सुरक्षित हुन्न भन्ने देखिएको छ । किनभने जसले यो भिडियो खिचेको छ, उसले आफूले नरम बोली बोलिरहेको छ भने आलमलाई विभिन्न प्रश्न सोधेर उत्तेजित बनाइरहेको छ । अब कोही व्यक्तिलाई फसाउनु छ भने प्रहरीले सिधै आफ्नो नियन्त्रणमा लिने र उसलाई हतियार वा लागूऔषध तथा खराब अभिव्यक्ति दिएको भन्दै मुद्दा चलाउन सक्ने अवस्था उत्पन्न भएको छ ।

प्रहरीको यो हर्कतलाई महानिरीक्षक सर्वेन्द्र खनालले कसरी लिन्छन् ? त्यो भने हेर्न बाँकी छ । तर, आलम परिवारले भने आफूहरूलाई जबर्जस्ती आतंककारी बनाउने अभियानमा प्रहरी योजनाबद्ध भएर लागेको गुनासो गरेका छन् । 

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले भने यस विषयमा केही बताउन चाहेनन् । उनले यसबारे पछि कुरा गरौंला भनेर फोन राखे ।