आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

चकलेट र दूधजन्य खानेकुरा खाँदा डण्डिफोरको समस्या आउँछ : सौन्दर्य विशेषज्ञ डा. ललन खतिवडा



काठमाडौं । चर्मरोग भनेको छाला सम्बन्धी रोग हो। जुन खुट्टाको पैतालादेखि टाउकोसम्म हुन सक्छ।  कपाल र छालामा हुने रोग तथा अनुहार, नङ, सौन्दर्यता तथा यौनरोग पनि यससँग सम्बन्धित छ। त्यसैगरी, छाला रोगका लक्षणहरु फरक फरक हुन्छन्। छाला रोगमा विशेषगरी चिलाउने र कुनै कुनै बेला पोल्ने समस्या हुन्छन्। तर, चर्मसँग यस्तो रोग पनि सम्बन्धित छन्, जसमा कुनै लक्षणहरु देखिँदैनन्।  

उदाहरणका लागि कुनै एक व्यक्तिलाई दुबी आएको छ भने उसलाई दुख्ने, पोल्ने समस्या हुँदैन। तर, पनि उक्त रोगले उसलाई मनोवैज्ञानिक असर पारिरहेको हुने चर्मरोग तथा सौन्दर्य विशेषज्ञ डा. ललन खतिवडाले क्यानडानेपालसँगको कुराकानीमा जानकारी दिए । यसैगरी, कुष्ठरोगको प्राथमिक चरणमा केही थाहाहुँदैन।  यसमा सुरुवाती दिनमा छाला फुस्रो हुने तर दुख्ने, पोल्ने समस्या नदेखिने उनले बताए।  

त्यसैगरी, अहिले युवाअवस्थामा बढी देखिएको भनेको डण्डीफोरको समस्या हो।  यसमा पनि लक्षण वा विना लक्षणको समस्या देखिने गर्छ।  विशेषतया, यो किशोर अवस्थामा देखिने समस्या हो।  यो समस्या १२ देखि १३ वर्षको उमेर समूहबाट देखिन सुरु गर्छ । 

यतिबेला शारीरिक अंगहरुको विकास र शारीरिक रुपमा पनि परिवर्तन देखिने हुँदा यसबेला डण्डीफोरले सताउन सुरु गर्छ  । यस बेला हर्मोनहरु पनि शरीरमा बढ्ने हुँदा चिल्लो पदार्थ निकाल्ने ग्रन्थीहरु सक्रिय हुन्छन् र डण्डीफोर आउने समस्या बढ्ने डा. ललन खतिवडाले जानकारी दिए । 

किशोर अवस्थामा महिला तथा पुरुष दुवैमा टेस्टोस्टेरोन हर्मोन बढी हुने भएकाले चिल्लो पदार्थ निकाल्ने ग्रन्थीहरु सक्रिय हुन्छन् र शरीरको ठाउँ ठाउँमा जमेर बस्छन् र त्यस ठाउँमा ब्याक्टेरियालाई जन्म दिन्छ, जसले गर्दा  डण्डीफोर आउने गर्दछ। उमेर बढ्दै गएपछि मुहारबाट डण्डीफोर हराउँदै जान्छन्, किनभने उमेर बढ्दै जाँदा हर्मोनहरुको सक्रियाता पनि घट्दै जाने डा. खतिवडाले जानकारी दिए।

अध्ययनहरुले  र खानेकुरा र डण्डीफोर कुनै सम्बन्ध छैन । तर, सुत्ने बानीमा चाहिँ डण्डीफोरको सम्बन्ध हुन्छ। नयाँ अध्ययनहरुले खानेकुराहरुको पनि डण्डीफोरको सम्बन्ध रहेको पुष्टि गरेको भेटिएको छ।  चकलेटहरु खाँदा टेस्टोस्टेरोन हर्मोन बढ्ने गर्दछ र शरीरमा चिल्लोपना बढी निस्कासित हुने गरेको देखिएको छ।  त्यसैगरी, दुधजन्य खाद्य पदार्थले पनि टेस्टोस्टेरोन हर्मोन बढ्ने गर्छ।

डण्डीफोरको समस्या र निदानसँगै छालाजन्य विभिन्न रोग र यसका उपचारका विषयमा चर्मरोग तथा सौन्दर्य विशेषज्ञ डा. ललन खतिवडासँग क्यानडानेपालकर्मी पूजा श्रेष्ठले गरेको भिडिओ अन्तर्वार्ता :

   

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  ५ : ३४ बजे