काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधानका लागि भन्दै पछिल्लो दुुई दिन सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सक्रिय रहे पनि त्यसले सुखद् परिणाम दिन सकेन ।
बुधबार र बिहीबार अध्यक्ष ओलीले माधवकुमार नेपालसँग वार्ता गरे । नागपोखरीस्थित होटेल मेरियटमा दुुई दिन नेपालसँग भेटवार्ता गरेका अध्यक्ष ओलीले बिहीबार राति नै वामदेव गौतमसँग भेटवार्ता गरे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार राति ८ बजे पुुगेका वामदेव र ओलीले सँगै बसेर खाना खाँदै छलफल गरेका थिए । सो क्रममा ओली र नेपाल दुवै समूहमा नलागेका वामदेवलाई आफ्नो समूहमा आउन ओलीले आग्रह गरे । यसका लागि आफूले गत फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको नेता वामदेवले जानकारी दिए ।
आज माधवकुमार, झलनाथ खनालसहितका नेता माथि कारबाहीको निर्णय होला ?
गत फागुन २८ गते पार्टीको बैठक राखेर अध्यक्ष ओलीले केन्द्रीय अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज, नेपाल समूहका नेताहरुलाई प्रदेश इन्चार्जबाट हटाएर आफूपक्षधर नेताहरुलाई प्रदेश इन्चार्जमा नियुक्त गर्दै माओवादीबाट आएका नेताहरुलाई जिम्मेवारी दिइएको थियो ।
नवौँ महाधिवेशनबाट निर्वाचित व्यक्तिलाई हटाउनेसहितको सो अवैधानिक निर्णय फिर्ता लिन वामदेवले अध्यक्ष ओलीलाई आग्रह गरे । तर, अध्यक्ष ओली सो निर्णय फिर्ता नलिने बताएपछि वामदेवले आफूले पनि साथ दिन नसक्ने बताएर फर्किएको जानकारी दिएका छन् ।
गत फागुन २८ गतेको निर्णय फिर्ता लिन गरेको आग्रहलाई अध्यक्ष ओलीले इन्कार गरेपछि आफूले पनि अध्यक्ष ओलीलाई साथ दिन नसक्ने बताएर फकिएको नेता वामदेवको गौतमको भनाइ छ ।
भेटवार्ताको भोलिपल्ट शुक्रबार प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फतजानकारी गराएका वामदेवले भनेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।’
प्रतिक्रिया