असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई दुःखी बनायो



काठमाडौं । आमा कसैको कुभलो सोच्न सक्दिनन् । सन्तानको सुखका लागि आफू पीडामा बिताउन राजी हुने आमा सन्तानको दुःख हेर्न भने सक्दिनन् ।

आमाको परिभाषा र महत्व शब्दमा वर्णन गर्न सम्भव छैन । वर्णन गर्न असम्भव आमाको पीडा हरेक सन्तानलाई पिडादायी हुन्छ, चाहे ति आफ्नी आमा हुन् वा अरु कसैकी, उनी सबैकी प्रिय हुन्छन् । 

शनिबार साँझ ७ बजेर १७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नी आमा सीता दाहालसहितको तस्बिर पोष्ट गरिन् ।  साथमा रेणुकी बहिनी गंगा दाहाल पनि थिइन् । 

दुई छोरी र आमाको तस्बिरमा देखिएको सीताको अवस्थाले सबैलाई चिन्तित् तुल्यायो नै, उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । 

विद्यमान राजनीतिक उपलब्धी हासिल गर्न सीताको योगदान अवर्णित छ । पति र छोराछोरीलाई मात्रै होइन स्वयं आफू पनि जनयुद्ध होमिएकी सीतालाई माओवादी युद्धकालमा धेरैले आमा भनेर सम्बोधन गरे । अहिले तिनै आमा बिरामी अवस्थामा छिन् ।

पति पुष्पकमल दाहाल प्रचण्डले उनको उपचारमा कुनै कमि आउन दिएका छैनन् । जति शरीरलाई रोगले गलायो, त्यो भन्दा बढी उनलाई सन्तान वियोगको पीडा सतायो । एक छोरी र एक छोरा गुमाएकी जनयुद्धकी आमा सीता पार्किन्सन्सजस्तो मस्तिष्कसम्बन्धी जटिल रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् । 

अमेरिका, सिंगापुर, भारतसहित विभिन्न मुलुकमा उनको उपचार गरिए पनि निको हुन भने सकेको छैन । जनयुद्धमा आफैँ होमिएर हजारौँ योद्धाहरुलाई उत्साह र हिम्मत दिएकी उनै जनयुद्धकी आमा अहिले गलेकी छन्, थाकेकी छन् । उनै गलित आमाको तस्बिर शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरियो । 

आफ्नै छोरी रेणुले पोष्ट गरिएको उक्त तस्बिरमा सीता निकै दुब्लो र चिन्तित् देखिइन् । छोरी रेणुको अंगालोमा देखिएकी सीता निकै गलेको देखिन्छ । सो तस्बिरमा रेणु र सीतासँगै गंगा पनि देखिन्छिन् ।

दुई छोरी रेणु र गंगा मुस्कुराउने प्रयास गरेको देखिन्छ । सो तस्बिरले ममतामयी आमा र छोरीहरुबीचको सम्बन्धलाई उजागार पनि गरेको छ । सो तस्बिर पोष्ट गरेको १६ घण्टामा १४ हजार जनाले प्रतिक्रिया जनाउँदै सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ । 

renu.PNG

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार  ५ : ५८ बजे