असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

त्रिपुरा सुन्दरी मन्दिरको लिंगा दुईपटक भाँचियो, देशमा ठूलो अनिष्ट हुने संकेत– पूजारी 



काठमाडौं । नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये पर्ने त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगा दुईपटक भाँचिएपछि चिन्ता व्यक्त गरिएको छ ।

बैतडीमा रहेको सो मन्दिरको लिंगा दुईपटक भाँचिएकाले मुलुकमा अनिष्ट हुने संकेतको रुपमा लिइएको पूजारी देवीकृष्ण उपाध्यायलाई उद्धृत गर्दै ज्योतिष कमल पौडेलले जानकारी दिए । 

त्रिपुरासुन्दरी देवीका प्रतिमाका रूपमा रहेका लिंगा हावाहुरीका कारण मंगलबार राति र बिहीबार गरी दुईपटक भाँचिएका हो । जसलाई अनिष्टको संकेतको रुपमा लिइएको छ । 

ज्योतिष कमलकाअनुसार मन्दिरमा रहेका भगवती, कालिका, विक्रम शाही महाराज र चण्डिकाका लिंगामध्ये भगवतीको लिंगा एक दिनको अन्तरमा दुईपटक भाँचिएको हो । लिंगा भाँचिएसँगै तत्कालै त्रिपुराकोटका स्थानीय मिलेर नयाँ लिंगा ठड्याएका थिए ।

पुजारी देवीकृष्ण उपाध्यायले यसभन्दा अगाडि दुईपटक लिंगा भाँचिएको जानकारी दिए । २०५७ मा भगवती हराएको केही दिनमा लिंगा भाँचिएको र त्यसको एक वर्षपछि दरबार हत्याकाण्ड भएको पूजारी उपाध्यायको भनाइ छ । 

‘त्योभन्दा अघि पनि एकपटक भाँचियो, त्यतिखेर पञ्चायत ढलेर बहुदल आयो, योपटक एकदिनको अन्तरको दुईपटक लिंगा भाँचियो, यसले राज्यमा ठूलो अनिष्ट हुने संकेत देखाउँछ,’ उनले भने । 

एउटै लिंगा २६ मिटर लामोसम्म ठड्याउने गरिएको छ । विजयादशमी र चैत्र अष्टमी गरेर वर्षमा दुईपटक अनिवार्य नयाँ लिंगा फेर्ने गरिन्छ ।

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ५ : ४३ बजे