काठमाडौं । जनताको चाहनाविपरीत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई विदा गरेको असर अहिले विद्युत चुहावटमा देखिन थालेको छ ।
विद्युत चुहावट नियन्त्रणदेखि मुलुकबाट लोडसेडिङ अन्त्य गरेको जस पाएका कुलमानको विदाइको ६ महिना पूरा हुँदा नहुँदै विद्युत प्रवाह कटौती बढ्नुदेखि चुहावट नियन्त्रणमा कमि आउन थालेको छ ।
विशेषगरी गर्मीयाम सुरु भएसँगै विद्युत चोरीको घटना बढ्न थालेको छ । प्रदेश दुई र बागमती प्रदेशमा चुहावट १ प्रतिशतले चुहावट बढेको प्राधिकरणको रेकर्डमा देखिन्छ । प्राधिकरणकाअनुसार प्रदेश २ मा एक वर्षअघिको तुलनामा एक प्रतिशतले बढेर विद्युत चुहावट १६ प्रतिशत पुगेको छ ।
यस्तै बागमती प्रदेशमा पनि एक प्रतिशतले नै बढेर विद्युत चुहावट आठ प्रतिशत पुगेको छ । प्रदेश २ र बागमतीका भक्तपुर र ललितपुरमा विद्युत चुहावट बढेको र चोरी बढेको जानकारी पाएको प्राधिकरणले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन ।
हालको चुहावटअनुसार प्रदेश २ मा ७० करोड रुपैयाँको क्षति प्राधिकरणले व्यहोर्नुपरेको छ । विद्युत चुहावटसँगै बिना जानकारी लामो समय बेला बेलामा लोडसेडिङ हुने गरेको छ ।
जसले मानिसलाई कुलमानको अभावले लोडसेडिङ हुन थालेको हो कि भन्ने आशंका उब्जिएको छ । तर, प्राधिकरणले लोडसेडिङ नहुने दाबी गर्दै आएको छ ।
प्रतिक्रिया