आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम – डा. रवीन्द्र पाण्डे 



काठमाडौं – नेपालमा कोरोनाभाइरसविरुद्धको खोप अभियान माघ १४ गतेदेखि शुरु भइसकेको छ ।  नेपालमा कोरोना खोप अभियान शुरु भएपछि सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र विभिन्न सरकारी कर्मचारी, पत्रकार लाई लगाइसकिएको छ । 

अहिले ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइरहेका छन् । यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमण र खोप वारे विभिन्न जानकारी दिदै आइरहेका डा. रवीन्द्र पाण्डेले कोरोना खोप कार्यक्रम असफल हुने जोखिम रहेको बताएका छन् । 

उनले कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी रहेको बताएका छन् । उनले महामारीको समयमा खोपको सिद्धान्त पालना नगरेमा खोपको कुन अर्थ नहुने बताएका छन् । 

उनले भनेका छन् – कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी छ । महामारीको समयमा खोपको सिद्धान्त पालना गरेनौं भने खोपको कुनै अर्थ हुँदैन।
 
नेपालमा हालसम्म कोभिशिल्डको खोपको आयात 
भारतबाट उपहार – १० लाख डोज 
भारतबाट किनेर ल्याएको – १० लाख डोज 
कोभ्याक्सबाट आएको – ३ लाख ४८ हजार डोज
जम्मा आएको = २३ लाख ४८ हजार डोज 
हिंजोसम्म खोप लिएका व्यक्ति = १५ लाख 
१५ लाख व्यक्तिले खोप लिंदा १५ लाख डोज स्टकमा राख्नुपर्छ। दोस्रो डोज लगाउन नपाउने स्थिति भयो भने पहिलो डोज मात्र लगाएका व्यक्ति ३ महिनामात्र सुरक्षित हुनसक्छन् । दोस्रो मात्रा नपाएमा पहिलो मात्रा लगाएको अर्थ हुँदैन । सरकारले जति जनालाई खोप दिन्छ, त्यति नै मात्रा स्टकमा राख्नुपर्थ्यो। 
 
हिंजोसम्मको तथ्यांक हेर्ने हो भने पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाउनको लागि ६ लाख ५२ हजार डोज अपुग हुन्छ।
 
अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको छ। महाराष्ट्र, केरला, कर्नाटक, तामिलनाडु, पंजाब लगायतका राज्यमा कोरोना संक्रमण बढिरहेको छ। महाराष्ट्रमा मात्र दिनको १५ / १६ हजारको दरले संक्रमितको संख्या बढिरहेको छ। दिल्ली, गुजरात, मध्यप्रदेशदेखि नेपालसंग सिमाना जोडिएका राज्यमा पनि संक्रमितको संख्या पहिलेभन्दा बढ्ने गतिमा देखिन्छ। |
भारत सरकारले ती राज्यमा सबैलाई खोप दिने तथा अब आफ्नो देशको अवस्था सुधार नभएसम्म खोप बाहिर नपठाउने भनेको छ। नेपालले किनेको बाँकी १० लाख डोज ल्याउन ठूलो पहल गर्नुपर्ने देखिन्छ। त्यस्तै ४ डलरको खोपलाई एजेन्ट नियुक्ति गरेर ६.५० डलरको दरले खोप किन्ने प्रयत्नले झन् ढिलाइ हुनसक्छ।
 
सरकारले चीनले दिने भनेको ८ लाख भेरो सेल भ्याक्सिन तुरुन्तै ल्याउन पहल गर्नुपर्छ। त्यतिमात्र हैन रुस र चीनसँग खोप किन्ने पहल गर्नुपर्ने देखिन्छ | कोभ्याक्स सुबिधाको खोप छिटो ल्याउने पहल गर्नु जरुरी छ।
 
अष्ट्रेलियाले किनेको एस्ट्रेजेनेकाको २ लाख ५० हजार मात्रा आफ्नो देशमा लैजाने क्रममा इटलीले जहाज रोकेको धेरै भएको छैन। युरोपमा महामारी ब्यापक भएकोले खोप बाहिर दिनुहुँदैन भन्ने मत बढेको छ। क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा पनि खोपको तिर्खा उस्तै छ।
 
सरकारले बिभिन्न कम्पनी र संस्थाबाट छिटो खोप ल्याउने तथा पहिलो डोज लगाएका हरेक व्यक्तिको दोस्रो डोज स्टोरमा सुरक्षित गर्ने सिद्धान्तमा चुक्यो भने खोप कार्यक्रम बालुवामा पानी हुनेछ। यस्तो संबेदनशील बिषयमा सरकार जिम्मेवार र परिपक्व हुनु अत्याबश्यक छ।

प्रकाशित मिति : चैत्र १, २०७७ आइतबार  ६ : ५५ बजे