सोमबार
२३ मङ्सिर
२०७६

प्रधानमन्त्री ओलीका किचन क्याबिनेटका सल्लाहकारहरु ‘भूमिगत’

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना सल्लाहकार र दुई जना स्वकीय सचिव राखेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेब साइटकाअनुसार प्रधानमन्त्री ओलीका चारजना सल्लाहकार र दुई जना स्वकीय सचिव रहेका छन् । राज्य सञ्चालनमा आवश्यक सल्लाह दिन सम्बन्धित् विज्ञलाई प्रधानमन्त्रीले आवश्यकताअनुसार सल्लाहकार राख्न पाउने कानुनी व्यवस्था रहेको छ । जसअनुसार प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार (राजनीतिक सल्लाहकार)मा  बिष्णु प्रसाद रिमाल,  परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली  र प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल रहेका छन् । 

सरकार सञ्चालनमा आवश्यक सल्लाह प्रधानमन्त्री ओलीलाई दिने कार्य नै  उनीको प्रमुख जिम्मेवारी हो । साथै सरकारको काम कारबाहीकाबारे जनतालाई जानकारी दिनु सल्लाहकारको दायित्व पनि हुन्छ ।प्रधानमन्त्रीलाई मन्त्रीहरुले आफूले गरिरहेको काम र गर्न लागेको विषयबारे जानकारी दिनुपर्ने हुन्छ । सरकारका मन्त्रीले गलत बोलेमा वा कुनै काम गरेमा प्रधानमन्त्री समेत मुछिने भएकाले कुन मन्त्री र मन्त्रालयबाट कार्य सम्पादन कस्तो भइरहेको छ भन्नेबारेमा सल्लाहकारहरुले ध्यान दिनुपर्ने र प्रधानमन्त्रीलाई जानकारी गराउने जिम्मेवारी हुनेछ । तर, यसविपरीत प्रधानमन्त्री ओलीका सल्लाहकारले सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदा सरकार आलोचित बन्यो ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासहितका केही मन्त्रीहरुको केही अभिव्यक्ति र व्यवहारले पनि प्रधानमन्त्री ओलीलाई आलोचित बनायो । मन्त्रीहरुको मात्रै होइन प्रधानमन्त्री ओलीकै केही अभिव्यक्ति विवादमा परेको थियो । निकै आलोचित भएपछि सरकारले रणनीति परिवर्तन गरेको देखिन्छ  । पछिल्लो समय प्रधानमन्त्री ओली, सञ्चारमन्त्री बाँस्कोटासहित प्रधानमन्त्रीका सल्लाहकारहरु मौन बसेका छन् । विशेषगरी सल्लाहकारहरु भूमिगतशैलीमा मौन बसेका छन् ।  पत्रकारहरुलाई जानकारी दिनुपर्ने भएकाले प्रेस सल्लाहकार कुन्दन अर्याल सामाजिक सञ्जालमा सामान्य सक्रिय छन् भने उनलाई कोड गरेका समाचार बनेर आएका छन् । तर, विवादमा पर्ने खालका उनले पनि कुनै विचार सार्वजनिक गरेका छैनन् । 

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि परेको विषय सामान्य रुपमा प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई बोलेका छन् । तर, उनले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने भारतीय राजदूत मन्जिभसिंह पुरीलाई स्पष्टीकरण सोध्नु पर्ने राय प्रधानमन्त्री दिएका छैनन् वा प्रधानमन्त्री स्वयम् स्पष्टीकरण लिन चाहेनन्, त्यो खुलेको छैन । तर, सल्लाहकारहरुको कारण विवादमा परेपछि प्रधानमन्त्री स्वयम्ले पनि उनीहरुसँग सल्लाह लिन छाडेका बताइएको छ । विवादमा पर्न थालेपछि प्रधानमन्त्री रुष्ट बनेपछि उनका सल्लाहकार, सचिवालयका व्यक्ति र मन्त्रीहरु विवादित हुने गरी बोल्न छाडेका छन् ।