काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासबाटै राजकाजको काम गरिरहेका छन् । गत फागुनमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकदेखि राजनीतिक, कूटनीतिक भेटघाट पनि बालुवाटारमै गर्ने गरेका छन् । मिर्गाैला प्रत्यारोपण अघि पनि विभिन्न संक्रमणबाट पीडित बनेका प्रधानमन्त्री ओली सरकार र पार्टीको काम सरकारी निवास बालुवाटारबाटै गरेका छन् ।
स्वास्थ्य संवेदनशीलताका कारण निवासबाट प्रधानमन्त्री ओली फाट्टफुट्टमात्रै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएका छन् । यही क्रममा विश्वभर ताण्डव मच्चाएको कोरोनाभाइरस संक्रमण महामारीका बेला प्रधानमन्त्री ओलीले बालुवाटारबाटै सरकारको काम गरिरहे ।
यही बेला यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली बालुवाटारको चौघेराबाट बाहिर निस्कन थालेका छन् । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुई हप्तादेखि दुवै समूहको भेला र बैठक बाक्लै बस्न थालेको छ । यसले पनि प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट पार्टी प्यालेसदेखि प्रज्ञा भवनसम्म डोहोर्याउन थालेको छ ।
पार्टीको भेलामा सम्बोधन गर्न बालुवाटारबाट बाहिर जान थालेका प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालयमा भने गएका छैनन् । उनी कहिलेदेखि कार्यालय नगएको भन्ने रेकर्डबारे मन्त्रिपरिषद् कार्यालयले जानकारी दिन इन्कार गरेको छ । प्रधानमन्त्री कार्यालय आएको रेकर्ड राख्न चलन नरहेको भन्दै मन्त्रिपरिषद् कार्यालयले यसबारे बताउन चाहेन ।
प्रचण्डको भारत यात्रा : एक तीर दुई शिकार
प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा कहिले आउनु भएको थियो भन्ने क्यानडानेपालको जिज्ञासामा मन्त्रिपरिषद् कार्यालयमा सहसचिव तथा प्रवक्ता शंकर नेपालले भने, ‘प्रधानमन्त्री कार्यालय आएको रेकर्ड राख्ने चलन छैन, त्यही भएर थाहा भएन ।’
हरेक कार्यालयमा कार्यालय सहयोगीदेखि हाकिमसम्मको रेकर्ड राख्न कानुनतः व्यवस्था भए पनि प्रधानमन्त्री कार्यालयमा आएको रेकर्ड राख्न चलन नरहेको जवाफ प्रवक्ता नेपालले दिए । हालसालै प्रधानमन्त्री कहिलेदेखि कार्यालय आउनु भएको छैन ? यसबारे त थाहा होला नि भन्ने अर्काे जिज्ञासामा उनले अघिकै शब्द दोहोर्याए, ‘प्रधानमन्त्री कार्यालय आएको रेकर्ड राख्न चलन छैन, त्यही भएर थाहा भएन ।’
प्रतिक्रिया